लिखु–४ जलविद्युत आयोजनामा रामेछापवासीलाई ‘प्रमोटर’ शेयर दिन जनप्रतिनिधिको माग



१४ फागुन, रामेछाप ।
रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माण हुन लागेको लिखु–४ जलविद्युत आयोजनामा रामेछापवासीलाई संस्थापक (प्रमोटर) सेयर दिन जनप्रतिनिधिहरुले माग गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दासँगै लगानी गर्न इच्छुक रामेछापवासीलाई प्रमोटर सेयर हाल्ने व्यवस्था गर्न आयोजनासँग जनप्रतिनिधिहरुले माग गरेका हुन् ।

लिखु–४ जलविद्युत लगानी कम्पनी ग्रिन भेन्चरले राजधानीमा गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले अनिवार्य रुपमा नै रामेछापवासीलाई प्रमोटर सेयर हाल्ने गरी व्यवस्था गर्न माग गरेका छन् । कार्यक्रममा रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले रामेछापवासीको हितलाई ध्यानमा राखेर आयोजना सञ्चालन गर्नुपर्ने बताए ।

उनले भने,‘जलविद्युत आयोजना निर्माणको लागि हामी सहयोग गर्न प्रतिबद्ध छौ, तर रामेछापवासी जनताले पनि प्रमोटर सेयर हाल्ने व्यवस्था गर्नुपर्छ ।’ लगानी गर्नेहरुलाई प्रमोटर सेयर नै दिएर जाने वातावरण सृजना गर्न सांसद श्रेष्ठले जोड दिए । उक्त कार्यक्रममा ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले पनि ओखलढुंगा र रामेछापवासीको हितमा राखेर काम अगाडि बढाउनु पर्ने माग गरे ।
स्थानीय तह, प्रदेश र संघको सरकार निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाले अब कामलाई तीब्रता दिने तयारी गरेको छ । आयोजनाले जप्रतिनिधिहरुसँग सुझाव माग्न आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले प्रभावित क्षेत्र बढाउनु पर्ने बताएका छन् । लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले अहिले गाउँपालिकाको दुई वटा मात्र वडा प्रभावित क्षेत्रमा समावेश गरेर नहुने बताउदै बाँकी पाँच वटा वडालाई पनि प्रभावित क्षेत्रमा सूचिकृत गर्नुपर्ने बताइन ।


आयोजनाले गाउँपालिकाको १ दुरागाउँ र २ सैपूलाई मात्र प्रभावित क्षेत्रमा राखेको छ । गाउँपालिकाको खिम्ती–हलेदे–तिल्पुङ–नागदह– बिजुलीकोट हुँदै आयोजनास्थलसम्म मालवहाक सवारी साधन ओहोरदोहोर गर्ने भएकाले पनि सबै वडालाई प्रभावित क्षेत्रमा समावेश गर्नुपर्ने उपाध्यक्ष दाहालले माग गरिन । उनले आयोजना निर्माणको क्रममा भएको सम्झौता बमोजिम सामाजिक क्षेत्रमा विकास गर्ने लगानीको पनि सार्वजनिक गर्नुपर्ने बताइन ।
आयोजनाले भने दस प्रतिशत मात्र साधारण सेयर दिन सकिने बताएको छ । तर जनप्रतिनिधिहरुले कुनै पनि हालतमा रामेछापवासीको लागि प्रमोटर सेयर दिनुपर्ने अडान लिएका छन् । आयोजनाले ७५ प्रतिशत बैंक र २५ प्रतिशत मात्र आफूहरुको लगानी भएकाले प्रमोटर सेयर दिन नसकिने भन्दै पन्छिने खोजेको छ ।
रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद शान्ति पौडेलले समन्वय गरेर मात्र काम अगाडि बढाउन आयोजनालाई आग्रह गरे । ‘स्थानीयको चाहना र भावना अनुसार नै योजना सञ्चालन गर्नुपर्छ, स्थानीयसँग समन्वय गरेर काम गर्दा झन सजिलो हुन्छ’, पौडेलले भने,‘स्थानीयको योग्यता र क्षमता अनुसार रोजगारीमा स्थानीयलाई नै प्राथमिकतामा राख्नु पर्छ ।’
जनप्रतिनिधिहरुले वातारणको साथै स्थानीयस्तरमा स्रोत र साधन प्रयोग गरेसँगै प्रभावित क्षेत्र पनि बढाउनु पर्नेमा आयोजनाको ध्यानाकर्षण गराएका छन् । आल आयोजनाले रामेछापको २ र ओखलढुंगाको २ वटा वडालाई मात्र प्रभावित क्षेत्र बनाएको छ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा लिखु–४ जलविद्युत आयोजना निर्माणको काम सुरु हुने भएको छ । ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना अगाडि बढाउनु अघि स्थानीय प्रदेश र सघीय सरकारसँग समन्वय गरेर अगाडि बढने नीति आयोजनाले लिएको छ ।


जलविद्युत लगानी कम्पनी ग्रिन भेन्चरले सुरुमा १ सय २० मेगावाट डिजाइन गरेको भएपनि हाल आएर ५२ दशमलव ४ मेगावाट विद्युत उप्पादन गर्ने गरी काम अगाडि बढाउने भएको हो । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सव स्टेशनमा जोडिने छ । आयोजनाको कुल लागत ९ अर्ब ५४ करोड अनुमान गरिएको छ ।
रामेछाप र ओखलढुंगाको सीमा नदी लिखुको पानी साविक खिजी चण्डेश्वरी र भुजि गाविकोबीचबाट भूमिगत नहरमा फर्काइ ओखलढुगांको लितीमा निर्माण हुने उप्पादन गृहमा खसालिने छ । आयोजनामा सांढे ४ किलोमिटर भुमिगत नहर र २ सय ३७ मिटर पेनस्टक पाइप जडान गरी २ सय १६ मिटर उचाईबाट उत्पादन गृहमा पानी खसालीने गरी डिजाइन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्