खाँडादेवी गाउँपालिकाको गोगनपानीमा बन्यो छर्योतेन (फोटोफिचर)



१६ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–५ गोगनपानीमा झ्याङछयुब छर्योतेन (बोधी चैत्य) निर्माण कार्य सम्पन्न भएको छ । पकरवास–माकादुम तामाङ एकता समाजको सक्रियतामा चैत्य निर्माण भएको हो । बौद्ध धर्मलम्बिहरुको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाउने उदेश्यले चैत्य निर्माण गरिएको हो । ४५ फिट उचाइ रहेको चैत्य निर्माणको लागि २७ लाख रुपैयाँ खर्च भएको थियो ।


चैत्य निर्माणको लागि टुल्कु लोप्साङ नाम्गेल रिन्पोछेले ११ लाख र बाँकी स्थानीयले १७ लाख रुपैयाँ आर्थिक सहयोग जुटाएर चैत्य निर्माण गरेका हुन् । २ बर्ष अघि निर्माण कार्य सुरु भएको चैत्य निर्माणसँगै खाँडादेवी गाउँपालिकाभित्र थप धार्मिक पर्यटकको संख्या बढ्ने लक्ष्य राखिएको छ ।


खाँडादेवी गाउँपालिकामा रहेको ऐतिहासिक खाँडादेवीको मन्दिर दर्शन गर्न आउने पर्यटक अब गोगनपानीमा निर्माण भएको चैत्यको पनि दर्शन गर्न आउने चैत्य निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर तामाङले बताए । उनका अनुसार चैत्य १३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।


चैत्य निर्माण समितिका संयोजक आले लामाले जिल्लामा आगामी दिनमा थप चैत्य निर्माण गर्न भूमिका खेल्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘चैत्य निर्माणको लागि टुल्कु लोप्साङ रिन्पोछेको ठूलो सहयोग रह्यो, स्थानीयको सक्रियता पनि उत्तिकै रह्यो जसको कारण दुई बर्षभित्र नै चैत्य निर्माणको कार्य सम्पन्न भएको छ ।’ जिल्लामा आगामी दिनमा थप बोधी चैत्य निर्माणको काममा समन्वयकारी भूमिका निर्वाह गर्ने उनले बताए । २७ लाख ६ सय ५३ रुपैयाँ लागतमा चैत्य निर्माण भएको संयोजक लामाले जानकारी दिए ।


नवनिर्मित बोधी चैत्यको क्याप्जे झोपा रिन्पोछे, टुल्कु लोसाङ नाम्गेल रिम्पोछेले प्राणप्रतिष्ठा (राब्बे) गरेर उदघाटन भएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष राजकुमार घिसिङले चैत्य निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष घिसिङले प्राणप्रतिष्ठा (राब्ने) पछि यस भेग लगातका चारैतिर सुख शान्ति र समृद्धि छाउने गुरुको बचनपछि चैत्य निर्माण गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्