सुनकोसी नदी फर्काएपछि रामेछाप र सिन्धुलीबीच विवाद



१९ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम र सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ कुशेश्वर साँदीडाँको सीमा सुनकोसी नदी फर्काएपछि दुई जिल्लाबीच विवाद सुरु भएको छ । सुनकोसी गाउँपालिकाले एकतर्फ एक्साभेटर लगाएर रातारात रामेछापतर्फ सुनकोसी नदी फर्काएपछि विवाद सुरु भएको हो ।


क्रसर उद्योगका सञ्चालक, गिठी र ढुंगा व्यापारीहरुको मिलेमतोमा रातारात सिन्धुलीतर्फ बगिरहेको कोसी रामेछापतर्फ फर्काउने काम भइरहेको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले पटक–पटक आग्रह गर्दा पनि ठेकेदारले धेरै कमाउने लोभमा कोसीको वहाव क्षेत्र नै परिवर्तन गरेर रामेछापतर्फ कोसी फर्काउने काम भइरहेको छ ।’
विवाद सुरु भएपछि ठेकेदारले दिउसो कोसी फर्काउने काम रोकेकोजस्तो गरेपनि राती–राती दुइ वटा एक्साभेटक्र लगाएर धमाधम कोसी फर्काउने काम हुँदा पनि प्रशासनले पर्याप्त ध्यान दिएको छैन, वडा अध्यक्ष श्रेष्ठले भने । जिल्ला समन्वय समिति सिन्धुली र रामेछापले नै सुनकोसी नदी किनाराका ढुंगा र बालुवा निकासीको लागि ठेक्का लगाएका छन् । नदीको दुवैतर्फ ठेकेदारहरुले हाल वालुवा ढुंगा निकासी गरिरहेका छन् ।


रामेछाप–सिन्धुली जिल्लाको सीमाना पर्ने सुनकोसी नदीस्थित सिन्धुलीको साँदीडाँडा बाट रामेछापको बगडी बगरतर्फ नदी फर्काइएको छ । । कोसी बगिरहेको क्षेत्रलाई परिवर्तन गर्दै नदी फर्काउने काम भएको भन्दै रामेछापवासीले स्थानीय प्रशासनले तत्काल उक्त काम रोक्नु पर्ने माग गरेका छन् ।

दिनरभरी सुत्ने, रातभरी कोसी फर्काउने
सिन्धुलीको सुनकोसी गाउँपालिका अन्तर्गत रहेको क्षेत्रबाट रातारात कोसी फर्काउने कोशिस भएपछि रामेछापका स्थानीयले उक्त काम रोक्न दबाब दिएका थिए । तर ठेकेदारले केही दिन रोकेजस्तो पनि ग¥यो । अहिले पुनःचार दिनयता राती राती मात्र कोसी फर्काउनको लागि ह्युम पाइप हाल्ने काम गरिरहेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । स्थानीयले जिल्ला प्रशासन कार्यालय रामेछापले समेत पर्याप्त चासो नदिएको गुनासो गरेका छन् ।

क्रसर व्यावसायी र ठेकेदारको दादागिरी
सुनकोसी नदी रामेछापतर्फ फर्काउदा उक्त क्षेत्रबाट करोडौ रुपैयाँ बराबरको ढुंगा र बालुवा निकाल्न पाइने दाउमा ठेकेदार रहेको छन् । बिपी हाइवेको आसपासमा अहिले झण्डै आधा दर्जन क्रसर सञ्चालनमा छन भने केही सञ्चालनको तयारीमा रहेका छन् ।

कोसी फर्काउदा ठेकेदार र क्रसर व्यापारीलाई फाइदा हुने भएकाले पनि प्रशासनलाई नै चुनौती दिदै ठेकेदारले कोसी फर्काउने काम गरिरहेको छ । क्रसर व्यासायीलाई फाइदा हुने भएकाले ठेकेदार र क्रसर व्यासायीको मिलेमतोमा कोसी फर्काउने काम रातरात भएकोप्रति रामेछापवासी चिन्तित भएका छन् ।

सुनकोसी नदीले बेलाबेलामा आफ्नो वहाप परिवर्तन गर्ने गरेको छ । २०२८ सालको नापी अनुसार जग्गाको नापी जता भएपनि कोसीले निर्धारण गरेको स्थान नै सीमा हुने टुंगो लगाएको थियो । तर अहिले सिन्धुलीले कोसी बगिरहेको स्थान आफ्नो जमिन पर्ने भन्दै कोसी फर्काउन पाउनु पर्ने दावी गर्दै आएको छ ।

दादागिरी ठेगान लगाउने काम हुन्छः खड्का
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले कोसी फर्काउने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन । कोसी फर्काउन नदिनको लागि आफूले रामेछापका प्रमुख जिल्ला अधिकारी, सिन्धुलीका जिल्ला समन्वय समितिका संयोजक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिरहेको बताए । ‘मैले स्थलगत अनुगम पनि गरेर आएको छु, नदी फर्काउन खेल कतैबाट हुनु हुँदैन’, उनले रामेछाप न्युजसँग भने,‘कसैले पनि दादागिरी देखाउनु भएन, नियम र कानुन अनुसार चल्नु प¥यो ।’ राती राती नदी फर्काउने काम गर्नेलाई ठेगान लगाउने काम हुन्छ, खड्काले भने ।

सिन्धुलीसँग समन्वय भइरहेको छः प्रजिअ लामेछाने
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानेले सुनकोसी नदी फर्काउने विषयमा आफूलाई जानकारी भएको र समस्या समाधानको लागि सिन्धुली जिल्लासँग समन्वय भइरहेको बताए । ‘गलत काम रोक्नु पर्छ, हामी समन्वय गरिरहेका छौ, एक दुई दिनभित्र नै समस्याको समाधान गनै काममा लागेका छौ’, उनले रामेछाप न्युजसँग भने ।

नदी फर्काउने पाइदैनःप्रजिअ दाहाल
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनराज दाहालले रामेछापतर्फको ठेकेदारले कोसीमा ह्युम पाइप हाल्नेलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताए । कोसी फर्काउने विषयमा आफूलाई जानकारी भएको बताउदै उनले भने,‘सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा दाहालसँग मैले जानकारी लिदा कुनै विवाद नरहेको बताउनुभएको छ ।’ सुनकोसी नदीमा देखिएको विवाद समाधान नर्गको लागि रामेछापका प्रजिअसँग पनि समन्वय भइरहेको बताउदै पर्सी सोमवार आफू नै स्थलगत अनुगमनमा जान लागेको बताए । प्रजिअ दाहालले भने,‘स्थलगत अनुगमनको क्रममा जो दोषी देखिन्छ, उसलाई कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्