प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदद्धारा शपथ



२० फागुन, काठमाडौं ।
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिवार्चित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गरेका हुन् ।
शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आएका थिए ।
नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निवार्चित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागुन २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गरेकी छन् । भोली ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ ।
प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्