‘मन्थलीदेखि गाल्वासम्मको सडक पिच हुन्छ’



२१ फागुन, रामेछाप ।
प्रदेश नम्बर ३ नम्बर प्रदेशका अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश ३ को विकास निर्माणको काम नै अबको पहिलो प्राथमिता भएको बताएका छन् । उनले विकासको मूल आधार नै स्थानीय तह भएको बताएका हुन् । संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउदै मन्त्री ढुंगेलले स्थानीय तहबाट नै समृद्धिको सुरुवात गर्नुपर्ने बताए ।


खाँडादेवी गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले सदरमुकाम मन्थलीदेखि खाँडादेवी गाउँपालिका हुँदै गाल्वासम्मको सडक पिचको काम तत्काल अघि बढ्ने बताए । उनले भने,‘पहिलो चरणमा मन्थलीदेखि गाल्वासम्मको सडक पिच अगाडि बढछ, बाँकी प्राथमिकताको आधारमा मुख्य–मुख्य सडक पिच गराउने कार्यमा भूमिका खेल्छु ।’ मन्थलीदेखि गाल्वासम्मको सडकको स्तरउन्नतीको काम भएपनि पिच हुन सकेको छैन् ।

हरेक गाउँपालिकामा एक/एक वटा प्राविधिक विद्यालय र सुविधा सम्पन्न अस्पताल स्थापन गर्ने कार्य पनि तत्काल अगाडि बढने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘रामेछापमा खानेपानीको समस्या धेरै छ, अहिले सञ्चालन भएका योजना पर्याप्त नभए, आवश्यकता अनुसार थप योजना थप गरेर भएपनि सबै क्षेत्रमा खानेपानीको व्यवस्था हुन्छ ।’ मन्त्री भएपछि पहिलो पटक जन्मभूमि पुगेका ढुंगेललाई स्थानीयले भव्य रुपमा स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले जिल्लामा हाल सञ्चालन भइरहेका विकास निर्माणको कामको नियमित अनुगमन हुने बताए । कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले विकास निर्माणको काममा गाउँपालिकाहरुबीच समन्वय गरेर अगाडि बढने बताए । त्यसैगरी दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले विकास निर्माणको काममा सहकार्य गरेर अगाडि बढने बताए ।
खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले विकास निर्माणलाई पारदर्शी र जनताले परिवर्तन गर्ने गरी अगाडि बढाउने बताए । उनले सात वटा ऐनको साथै आवश्यक अन्य ऐन पनि क्रमश पारित गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्