दोरम्बा–सुनापती गाउँपालिका जोडने पक्की पुल बन्यो



२३ फागुन, रामेछाप ।
रामेछापको दोरम्बा र सुनापति गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्न भएको छ । दुई गाउँपालिकाको सीमा रहेको खानीखोलामा पक्की पुल निर्माण कार्य सम्पन्न भएको हो । बर्षाको समयमा पुल नहुँदा ठूलो सास्ती झेल्दै आएका दोरम्बा गाउँपालिका बासिन्दालाई ठूलो राहत भएको छ । दोरम्बा गाउँपालिका–५ र सुनापति गाउँपालिका–२ स्थित रजमन्टारमा पक्की पुल निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।
चार बर्ष अघि निर्माण कार्य सुरु भएको पुल सवा तीन करोड लागतमा निर्माण भएको हो ।३७ मिटर लम्बाई ७. २० मिटर  चौडाई रहेको पुलमा एक पटक दोहोरो रुपमा सवारी आवतजावत गर्न सक्छन् ।
रामेछापको दोरम्बा–सुनपति गाउँपालिका जोडने खानीखोलास्थित पक्की पुल निर्माणको जिम्मेवारी गौरी पार्वती/आषिश/निलगिरी जेभीले पाएको थियो ।

स्थानीय हिरा श्रेष्ठले रामेछाप न्युजसँग भने,‘निर्माण कम्पनीले ठेक्का पारेपछि भौगोलिक कठिनाइको कारण काम नगर्ने अवस्थामा पुगेका थिए, आफ्नो गाउँमा आएको पुल जसरी पनि बनाउनु पर्छ भनेर हामीले मिलेर पुल निर्माण गरेका हौं ।’

दोरम्बा गाउँपालिका–५ अन्तर्गत नै दुई बर्ष अगाडि नै खैरेखोलामा भने पक्की पुल सञ्चालनमा आइसकेको छ । यो पुल सञ्चालनमा आएपछि अब बर्षाको समयमा पनि सहज रुपमा सदरमुकाम मन्थली र राजधानी काठमाडौं आवतजावत गर्न सहज भएको उनले बताए । श्रेष्ठले रामेछाप न्युजसँग भने,‘अब स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य बस्तु सहज रुपमा बजारसम्म पुग्छ ।’

 

प्रतिक्रिया दिनुहोस्