स्थानीयले जोखिम मोलेरै बनाए खैरेखोला र खानीखोलमा पक्की पुल



२४ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ स्थित खैरेखोला र खानीखोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पक्की पुल सञ्चालनमा आएको छ । चार बर्ष अघि निर्माण कार्य सुरु भएको पक्की पुलको निर्माण कार्य सम्पन्न भएको हो । खैरेखोलाको पुल दुई बर्ष अघि नै निर्माण भएर सम्पन्न सञ्चालनमा आएको छ भने खानीखोलाका पुल निर्माण कार्य सम्पन्न भएर सञ्चालनको तयारीमा छ । करिब ५ करोड लागतमा खानीखोला र खैरेखोलाको पक्की पुल सञ्चालनमा आएका हो ।
जोखिम मोलेरै स्थानीयले बनाए पुल
गाउँमा पुल निर्माण गर्ने भएपछि स्थानीयमा खुसी छायो । तर निर्माणको जिम्मेवारी पाएको गौरी पार्वती/आषिश/निलगिरी जेभीले आठ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । भौगोलिक कठिनाइएको कारण निर्माण सामाग्री ढुवानी गर्न सहज थिएन । निर्माण सामाग्री दोललघाटबाट लैजान त्यति सहज पनि थिएन ।

निर्माण पाएको कम्पनी मार्फत स्थानीयले जोखिम मोलेर नै पुल निर्माण गर्ने अठोट लिए । पुल निर्माण गर्ने कम्पनीले समयमा नै काम आँट नगरेपछि स्थानीय युवाहरुले दुई वटै पुल निर्माणको जिम्मेवारी लिएर काम सुरु गरे । सुरुमा पुल निर्माण गर्नको लागि आर्थिक अभाव भएपछि स्थानीय युवा प्रेम श्रेष्ठले ५० लाख रुपैयाँ व्यक्तिगत रुपमा हालेर पुल निर्माणको काम सुरुवात गरेका थिए ।
पुल निर्माणको जिम्मेवारी बहन गरेका प्रेम कुमार श्रेष्ठले रामेछाप न्युजसँग भने,‘पुल निर्माणको काम सहज थिएन, तर हामीले जोखिम मोलेर नै अहिले दुई वटा पुल सञ्चालनमा ल्याएका छौं ।’ सहज रुपमा यातायातको पहुँच नहुँदा सबै भन्दा बढी निर्माण सामाग्री ढुवानमा नै खेप्नु परेको बताउदै श्रेष्ठ दोललघाटबाट ट्रकमा नभई बसको छतमा राखेर सिमेन्ट र रड ढुवानी गरेको बताए ।

आफनो गाउँठाउँमा आएको विकास निर्माणको काम रद्द नहोस भनेर जोखिम नै मोलेर भएपनि अहिले पुल निर्माण सकेको उनले बताए । पुल निर्माणको लागि रातदिन नभनि स्थानीय हिरा श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, पदम थापामगर लगायतले जोखिम मोलेर काम गर्दा नै पुल निर्माण गर्ने सपना पूरा भएको छ ।

पुल निर्माण भएपछि स्थानीयमा खुसीयाली
पुल नहुँदा बर्षाको समयमा कोही बिरामी भएको अवस्थामा बोकेरै गाल्वा वा साँदीडाँडा र नेपालथोकसम्म पुर्याउनु पर्ने बाँध्यता हटेको छ । पुल सञ्चालनमा आएपछि दोरम्बा र सुनापति गाउँपालिकाका तर्फका सडकको स्तरउन्ती पनि भएको छ । पुल सञ्चालनमा आएपछि स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तु निर्यातमा समेत सहज भएको स्थानीयले बताएका छन् ।

पुल निर्माणसँगै सडक कालोपत्र गर्ने अभियान
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले हिउद बर्षा नै सहज रुपमा यातायात सञ्चालन गर्ने गरी सडकको स्तरउन्तीको काम भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयको केन्द्र, सदरमुकाम र राजधानी काठमाडौं जोडिएका सडकलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौ ।’ सडकको स्तरउन्तीसँगै खैरेनीघाट बेथान, साँडीडाँडा सक्षमचौतारी हुँदै दोरम्बा गाउँपालिकाको खोलाखर्कसम्मको सडक कालोपत्रे गर्नको लागि डिपिआर अन्तिम चरणमा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्