बन्ने भो सुनकोसीमा २३ करोडमा रामेछाप जोडने पक्की पुल



२४ फागुन, रामेछाप ।
रामेछाप–काभ्रे जोडने पक्की पुल निर्माण हुने भएको छ । राजधानी काठमाडौंलाई जोडने पक्की पुल निर्माणको कार्य सुरु भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको रोशी गाउँपालिकाको सीमा सुनकोसीस्थित सिन्धुलीटारको गौडारीमा पक्की पुल निर्माण हुन लागेको हो ।

२ सय १० मिटर लामो पक्की पुल २३ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको निर्माण कम्पनीले बताएको छ । टेण्डी/शर्मा जेभी निर्माण सेवाले पुल निर्माणको जिम्मेवारी लिएको छ । पुल निर्माणमा संलग्न इन्जिनियर मञ्जिल मिश्रले रामेछाप न्युजसँग भने,‘पुलको डिजाइनको लागि २०७३ मा सम्झौता भएको थियो, पुल निर्माणको लागि भर्खर टेन्टर भएर काम सुरु भएको छ, अबको तीन बर्षभित्र पुल निर्माण कार्य सम्पन्न हुन्छ ।’ उनका अनुसार ६ वटा पिलर रहने आरसिसी पुलको चौडाई ७ .५ मिटर रहेको छ ।

मध्य पहाडी लोकमार्ग जोडने पुल
सुनकोसी नदीमा निर्माण हुन लागेको पुल हाल निर्माणको चरणमा रहेको मध्य पहाडी लोकमार्गसँग जोडिने छ । हाल लभु–खुर्कोट खण्डको सडक निर्माण भइरहेको छ । लुभुदेखि डहु हुँदै काभ्रे खण्डको लागि पनि टेन्टर भइसकेको छ । पुल निर्माण भएपनि मध्य पहाडी लोकमार्ग हुँदै विपी हाइेव जोडन सहज हुने भएको छ ।

गाउँपालिकाले सक्दो सहयोग गर्छः लामा
सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले पुल निर्माणको लागि स्थानीय सरकारले खेल्नु पर्ने भूमिका खेल्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्माणको काम गुणस्तरीय र पारदर्शी हुनुपर्छ, गाउँपालिकाबाट आवश्यक सहयोग हुन्छ ।’ अध्यक्ष लामाले तोकिएको समयसीमाभित्र नै पुल निर्माण सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्