महरा सभामुखमा निर्विरोध निर्वाचित



२६ फागुन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि बमोजिम महरा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको थियो ।

बैठकमा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव गर्नुभएको थियो भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गर्नुभयो ।

सो बैठकमा प्रस्तावक तथा समर्थकले लामो संसदीय अनुभवको गरिमालाई कायम राख्दै संविधान कार्यान्वयनका लागि विभिन्न कानून तयार गर्नुपर्ने र मुलुकको समृद्धिका लागि संसद्लाई एक ढिक्का बनाएर अघि बढाउन महराको नेतृत्वले काम गर्नसक्ने अपेक्षा गर्नुभयो ।

सो प्रस्तावको समर्थनमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले समर्थन गर्नुभयो । उहाँले सबै पक्षलाई समेटेर र आवश्यक पर्दा सरकारलाई सहयोग, सचेत र निर्देशन गर्नेगरी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सभामुख महराले भन्नुभयो, “सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यकपर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”

उहाँले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्