रामेछापको खैरेनीघाटदेखि दोरम्बाको खोलाखर्कसम्म सडक कालोपत्रे हुने



रामेछापको खैरेनीघाटदेखि दोरम्बाको खोलाखर्कसम्म सडक कालोपत्रे हुने२६ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको तीन वटा गाउँपालिकाका जोडने ३३ किलोमिटर सडक कालोपत्रे गर्नको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । सिन्धुली जिल्लाको नेपालथोकबाट विपी हाइवे हुँदै खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिका  खोलाखर्कसम्मको सडक कालोपत्र हुन लागेको हो ।
सडक विभागले खैरेनीघाट–बेथान–पानीघाट–हिलेदेवी,सक्षमचौतारा–गाल्वा–दोरम्बा हुँदै खोलाखर्कसम्मको सडक कालोपत्रे गर्नको लागि अध्ययन सम्पन्न गरेर डिपिआरको काम अन्तिम चरणमा पुर्याएको छ । सडक विभागका सहकायक प्रवक्ता रमेशप्रसाद सिंहले चैत्र महिनाभित्र खैरनीघाटदेखि खोलाखर्कसम्मको सडकको डिपिआर तयार हुने रामेछाप न्युजलाई बताए । उनले भने,‘ग्रामिण क्षेत्रमा प्रति एक किलोमिटर सडक कालोपत्रे गर्न तीन करोड रुपैयाँ खर्च हुन्छ ।’

सडक कालोपत्रे गर्न बजेट पार्न लाग्छुः सांसद श्रेष्ठ
रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले आफू गृहराज्यमन्त्री हुँदा खैरेनीटारदेखि दोरम्बाको खोलाखर्कसम्मको सडक कालोपत्रे गर्नको लागि डिपिआर बनाउने भूमिका खेलेको बताए । उनले रामेछाप न्युजसँग भने,‘डिपिआर अन्तिम चरणमा पुगेको छ, सडक कालोपत्रे बनाउनको लागि बजेट पार्नको लागि सक्दो कोशिस गर्छु ।’ यो सडकसँगै जिल्लाका मुख्य सडक कालोपत्रे बनाउने कार्यमा आफूले उच्च प्राथमिकता दिएर काम गर्ने उनले बताए ।

सडक कालोपत्रे गर्न अर्थमन्त्री ढुंगेलको प्राथमिकता
प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेलले जिल्लाको मुख्य सडक उच्च प्राथमिकता दिएर कालोपत्रे गर्ने बताएका छन् । उनले जिल्लाको पूर्वपश्चिम र उत्तर दक्षिण जोडन सडक पहिलो चरणमा कालोपत्रे गरिने बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्लाको मुख्य सडकहरु पहिचान भइसकेको छ, पहिलो चरणमा मुख्य सडक कालोपत्रे गरेपछि मात्र अन्य सडकको बारेमा बजेट विनियोजन हुन्छ ।’

 

सडक कालोपत्र गर्न दुई अध्यक्षको दौडधुप
सडक कालोपत्रे गर्ने डिपिआर तयारीसँगै सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान कुनै पनि हालतमा बजेट पार्ने गृहकार्यमा जुटेका छन् । प्रदेश ३ का अर्थमन्त्री ढुंगेलले उक्त सडकलाई कालोपत्रे गर्नको लागि प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् । सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले कालोपत्रेको लागि बजेट विनियोजन गराउने कार्यमा लाग्ने बताए । त्यसैगरी दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले खैरेनीघाटदेखि खोलाखर्कसम्म सडक कालोपत्रे गर्न बजेट पार्ने प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गर्ने बताए ।

खैरनीदेखि बेथानसम्म मध्य पहाडी लोकमार्ग
मध्य पहाडी लोकमार्ग रामेछापको भूभाग सुनकोसीको किरानरै किनार निर्माण हुने भएको छ । जसको लागि ठेक्का समेत भइसकेको छ । खैरेनीघाटबाट लुभ, सिन्धुलीटार, डहु हुँदै खानीखोलाको किनाराबाट पाँचखाल जोडिनेछ । खैरनीदेखि बेथानसम्म चार लेनको मध्ये पहाडी लोकमार्ग निर्माण हुनेभएको छ । हाल डिपिआरको चरणमा रहेको सडक भने खैरेनीघाट लुभ, खनियापानी, भ्वाँसा डहु हुँदै दोरम्बाको सक्षम चौतारासम्म पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्