रामेछापको गोकलगंगा गाउँपालिकामा ढिस्कोले पुरिएर २ को निधन



१ चैत्र, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ का अन्दाजी २५ वर्षीय राजु दुलाल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापाले रामेछाप न्युजलाई जानकारी दिए ।
उनका अनुसार अनुसार लिखु हाइड्रो पावर र स्थानीयको लगानीमा खनिएको सिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा बुधबार साँझ माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।

घटनास्थलबाट प्रहरी चौकी तथा हाइड्रो पावर समेत केही टाढा भएको कारण आधा घण्टा पछि मात्र उद्धार टोली घटनास्थलमा पुगेको बताइएको छ । प्रहरी चौकी शिवालयबाट पुगेको प्रहरी टोली र हाइड्रोका कर्मचारी तथा स्थानीयबासी समेतको मद्दतमा उनीहरुको शव घटनास्थलबाट निकालिएको थियो । दुवै शव पोस्टमार्टमका लागि आज मन्थली ल्याइदै गरेको थापाले जानकारी दिए । उनले रामेछाप न्युजसँग भने,‘घटनाको आवश्यक अनुसन्धान गर्न टोली परिचालन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्