को हुन उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ?



२ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रबाट केपी ओली नेतृत्वको सरकारमा माओवादीको तर्फबाट उर्जा मन्त्री बनेका छन् । पूर्व गृहमन्त्री समेत भइसकेका पुन उर्जा मन्त्री बनेका हुन् ।
को हुन बर्षमान पुन ‘अनन्त’ ?
नाम ः वर्षमान पुन ‘अनन्त’
जन्म ः २०२८ जेठ २८
जन्मस्थान ः रोल्पा नपा–७, रोल्पा
आमा ः तिर्थमाली पुन
बुवा ः ईर्खराम पुन
पत्नी ः ओनसरी घर्तीमगर
छोरी÷छोरी ः शिला, उत्सव

जन्म र परिवार
रोल्पाकै एउटा सुन्दर गाउँ छ, माडीचौर । स्थानीय मगर भाषामा माण्डिबाङ भनिने गाउँ रोल्पा नगरपालिकाको वडा नं. ७ मा पर्दछ । राप्तीको शिर माडीखोलाको किनारा त्यहीं माडीचौरमा एउटा मध्यम किसान परिवार थियो, ईर्खराम पुन र तिर्थमाली पुन दम्पत्तिको । त्यहीं दम्पत्तिको कोखबाट १८ जेठ २०२८ मा जन्मिएका हुन् वर्षमान पुन ‘अनन्त’ । आठ सन्तान (पाँच दाजु भाई तीन दिदी बहिनी)मध्ये दोस्रो सन्तान अर्थात माहिलो छोरा हुन् अनन्त ।


राजनीतिक जीवनमा सहयात्री भएर आएकी ओनसरी घर्ती ‘उषा’ अनन्तको जीवन साथी बनिन् । जनयुद्ध सुरु हुनुको केहीं महिना अगाडि ११ भदौ २०५२ मा अनन्त र उषाको जनवादी विवाह भयो, जंकोटमा । निवर्तमान सभामुख ओनसरी अहिले प्रतिनिधिसभा सदस्यमा चुनिएकी छिन् । अनन्तका छोरी शिला कक्षा १२ र छोरा उत्सव कक्षा ९ मा पढिरहेका छन् । बुवा आमा अझै कृषिमा सक्रिय छन् । उनको साहिलो भाईको निधन भयो । बाँकी दाजुभाई र दिदी–बहिनीहरु राजनीति, व्यवसाय तथा कृषिमा सक्रिय छन् ।
स्कूल फस्टदेखि क्याम्पस फस्टसम्म
साविकको जंकोट गाविस वडा नं. १ माडीचौरमा अनन्तको बाल्यकालमा स्कूल थिएन । उनी पाँच वर्ष पुग्दा नपुग्दै एक घण्टा टाढाको स्कूल प्रावि जंकोटमा भर्ना भए । पहिलो दिन स्कूल जाँदा उनको खुट्टामा जुत्ता चप्पल थिएन, डेढ घण्टामा पसिना पुच्छ्दै कक्षा कोठामा छिरेका थिए उनी ।
स्कूलको पहिलो दिन उनले ‘धेरै पढ्नु र ठूलो मान्छे बन्नु’ भन्ने ठूला वडाको आशिर्वाद सम्झिए । जीवनका बारेमा त सोंच्न सकेनन् । मध्यम वर्गीय उनको परिवारलाई पनि सामन्ती संस्कृतिले प्रभाव पारिरहेकै थियो । अनन्तकै भाषामा भन्दा उनी सामन्ती संस्कृतिमै हुर्किए । त्यसबीचमा पनि उनलाई पढ्नुपर्छ भनेर हौस्याउनेहरु धेरै थिए ।
कक्षा एकमा अनन्त प्रथम भए । आफ्नै गाविसभित्रको भए पनि स्कूल टाढा लाग्यो अभिभावकलाई । र, दुई कक्षामा छिमेकी गाविसमा रहेको निमावि कोटगाउँमा भर्ना गरिदिए । कक्षा सातसम्म पढ्दा उनी कहिल्यै दोस्रो भएनन् । तिक्ष्ण दिमागका धनी अनन्त कक्षामामात्रै होइन स्कूलकै फस्ट हुन्थे ।
१३ वर्षको हुँदा अर्थात २०४१ मा माध्यामिक तहको अध्ययनका लागि उनले घर छाडे । सदरमुकामस्थित बालकल्याण माविमा भर्ना भए । उनी गनिएकामध्येकै विद्यार्थीमा पर्थे त्यहाँ पनि । तर, उनलाई राजनीतिले झ्याप्पै छोयो माध्यामिक तहमा पढ्दा पढ्दै । अभिभावकबाट टाढाको बसाईं, राजनीतिक सक्रियताले गर्दा लिबाङमा पढ्दा उनी फस्ट हुन सकेनन्, तर तेस्रो चौथो र पाँचौ पोजिशन कहि गएन ।
उनले पढेको बाल कल्याण मावि अहिले नेपाली राजनीतिमा स्थापित व्यक्तित्वहरुको पाठशाला हो । त्यहाँ पढ्दा अनन्त होस्टेलमा बस्थे, ३६ जना विद्यार्थी थिए होस्टेलमा । अलग पार्टीका नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’, रोल्पा प्रदेश १ बाट प्रदेशसभा सदस्य तथा प्रदेश गृहमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ होस्टेलमा सँगै बसेर हुर्किएका सहपाठी हुन् । उनीहरुभन्दा अगाडि त्यो विद्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र त्यो भन्दा अलि अगाडि माओवादीका नेता झक्कु सुबेदीलगायतले पढेका थिए । उनीहरुभन्दा पछिका विद्यार्थी बने निवर्तमान सभामुख ओनसरी घर्तीमगर, रोल्पा २ का प्रदेशसभा सदस्य दिपेन्द्र पुनलगायत ।
यी सबैका असल गुरु थिए कृष्णबहादुर महरा । गणित र विज्ञानमा जिल्लाभरीकै राम्रो शिक्षक गनिने महराले अनन्तलगायतलाई शैक्षिक ज्ञान त दिए नै, राजनीतिक ज्ञान पनि त्यससँगै मिसाई दिए । अनन्त भन्ने गर्छछन्, ‘महरा मेरो शैक्षिक गुरु पनि हो राजनीतिक गुरु पनि हो ।’ महराले पासाङ, अनन्त, विप्लव, सोनामलगायतलाई दिउँसो कक्षा कोठामा शैक्षिक ज्ञान दिन्थे, राती कोठामा बोलाएर विद्यार्थी संगठन सम्बन्धि राजनीतिक ज्ञान सिकाउँथे । सदरमुकामको त्यो स्कूल महराले एउटा शैक्षिक र राजनीतिक केन्द्रको रुपमा स्थापित गरे ।
२०४४ मा अनन्तले एलएलसी पास गरे । सामाजिक अवस्था र राजनीतिप्रति सचेत भईसकेका अनन्तले राजनीतिक सामाजिक कार्यकर्ता बनेर समाजमा रहेका उत्पीडन, दमन, शोसनको अन्त्यको अभियानमा सरिक हुने संकल्प थिए, र रोजे कानुन विषय । उनी २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस, दाङमा भर्ना भए ।
पढाईमा तिक्ष्ण अनन्त २०४८ मा क्याम्पस फस्ट हुँदै आईएल उत्तिर्ण गरे । र, राजनीतिमा पूर्णकालीन बने । पूर्णकालीन राजनीतिसँगै २०४९ उनले नेपाल ल क्याम्पसमा विएलमा भर्ना भए । नियमित क्लास लिन नसके पनि उनले विएलको अध्ययन पूरा गरे । परिक्षा दिए, थेसिस पनि बुझाए, तर जनयुद्ध सुरु भएकोले पूर्णता दिन सकेनन् । उनको औपचारिक शिक्षा विएल अध्ययनसम्मको रह्यो ।


लिबाङ हल्लाएको टिमले घोराही हल्लायो
सदरमुकाममा पढ्न थालेसँगै अर्थात २०४२ देखि अनन्त अखिल छैठौँमा आबद्ध भएर राजनीतिमा सक्रिय भईसकेका थिए । कृष्णबहादुर महराले सिकाएका थिए राजनीतिका धेरै कुरा । दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलन र राजनीतिक आन्दोलनमा उनी नेतृत्वदायी भूमिकामै सक्रिय रहे । सदरमुकाम लिबाङमा पढ्दा ‘तहल्का मच्चाएको’ टिम उपराष्ट्रपति पासाङ, प्रदेशसभा सदस्य कुलप्रसाद केसीलगायतको टिम थियो, दाङ हल्लाउने पनि । प्रतिनिधिसभा सदस्य रेखा शर्मा, माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत पनि जोडिए, दाङमा पढ्दै आन्दोलन गर्नेमा ।
त्यो वर्गसंघर्ष, जनयुद्धको आधार
२०४८ मा निर्मल लामाको नेतृत्वमा राष्ट्रिय जनआन्दोलन भयो । रोल्पामा महरा संयोजक र अनन्त सहसंयोजक थिए आन्दोलनको । अनन्त सम्मेलित पार्टीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले जारी राखेको दमनको प्रतिरोध गर्ने निर्णय लियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले रोल्पामा दमन झनै बढायो ।
अनन्तलगायतका रोल्पाका नेताहरुले दमनको प्रतिवाद गर्न युवा संगठन बनाए, वाईसिएल । उनीहरुले संघर्ष स्वरुप ‘जाली फटाहा’ किटान गरेर उनीहरुलाई कालोमोसो दलिदिए, तमसुक च्यातिदिए । अर्कोतर्फ ५१ मध्य २३ गाविसको अध्यक्ष जितेको र जिविस सभापति पनि भएकोले ती निकायमार्फत जनताको काम पनि गरे ।
वर्गसंघर्षको क्रममा २०४९ मा अनन्तलाई तीनवटा मुद्दा लागे । उनी २४ दिन हिरासत बसे । सोही वर्ष दोस्रो पटक उनी २४ दिन हिरासत बसे, डाँका मुद्दामा । कानूनी प्रक्रियाबाट उनले सफाय पाए । संघर्ष जारी राखे । त्यहीं संघर्ष नै माओवादी जनयुद्धको जग बन्यो । जनयुद्धको जग बसाल्न अनन्तले महत्वपूर्ण भूमिका खेले ।
फागुन १ को कमाण्डर
२०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गर्ने तयारी गर्दै गर्दा अनन्त माओवादीको रोल्पा जिल्ला कार्यालय सदस्य थिए, जोखबहादुर महरा सेक्रेटरी थिए । जनयुद्धको घोषणा गर्न होलेरीस्थित ईलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्ने माओवादीले निर्णय ग¥यो ।
त्यसबेला माओवादीको रोल्पा जिल्ला कमिटि नौ सदस्यीय थियो । अनन्त कार्यालय सदस्य थिए, युवा थिए, वाईसिएल, जिल्ला लडाकु दस्ता उनैको नेतृत्वमा थियो । जिल्ला लडाकु दल, स्वयमसेवक दल र सुरक्षा दल गरी तीनवटा अर्धसैन्य र सैन्य संगठन थिए माओवादीसँग ।
ती सबै संगठनलाई मिलाएर माओवादीले होलेरीमाथि आक्रमण गरेर जनयुद्ध घोषणा गर्ने योजना बनायो । कमाण्डर अनन्त तोकिए । उपराष्ट्रपति पासाङ त्यसको सहकायक कमाण्डर थिए । कृष्णबहादुर महरा राजनीतिक कमिसार ।
कान्छो उमेर, राजनीतिमा पाको जिम्मेवारी
आईएल पढ्दै गर्दा २०४७ मा अनन्तले पार्टी सदस्यता लिईसकेको थिए । २०४८ मा नेकपा (एकता केन्द्र)को तत्कालीन ९ नंं. क्षेत्रको संस्थापक एरिया सेक्रेटरी बने, जतिबेला उनी २० वर्षे जवान थिए । अनन्तसहित भीमबहादुर बुढा, नन्दबहादुर विक, देवीबहादुर पुन र मानबहादुर केसी त्यो एरियाको संस्थापक सदस्य थिए । भीमबहादु, नन्दबहादुर र देवीबहादुर जनयुद्धको क्रममा सहिद भए । केसी अहिले जिल्ला समन्वय समितिका सदस्य छन् ।
२०४९ मा पार्टीको पहिलो रोल्पा जिल्ला सम्मेलन भयो । पाँच सदस्यमा दुईजना थप्ने क्रममा अनन्त जिल्ला समिति सदस्य बने । त्यो रोल्पाको पहिलो निर्वाचित कमिटि थियो । दुईवर्षपछि २०५१ मा पार्टीको दोस्रो जिल्ला सम्मेलन भयो, त्यसपछि बनेको तीन सदस्यीय कार्यालय सदस्यमा अनन्त परे । जोखबहादुर महरा, सन्तोष बुढा र अनन्तको कार्यालय बन्यो ।
२०४८ तिर महरा र वर्मन बुढा सांसद थिए । झक्कु सुबेदी जिल्ला सभापति थिए । उपराष्ट्रपति पासाङ, जोखबहादुर महरा, कुलप्रसाद केसीलगायतले स्थायी शिक्षकको जागिर छाडिसकेका थिएनन् । त्यसबेला पूर्ण रुपमा अनन्त नै राजनीतिमा सक्रिय थिए, जनमोर्चाको सचिवको रुपमा ।
जनयुद्धको सुरुवातभएको केहीं महिनामै अनन्त २०५३ मा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी भए । लगतै रोल्पा र प्यूठान जिल्लाको संयुक्त जिल्ला कमिटि बन्यो, त्यसको पनि सेक्रेटरी बने उनी । २६ वर्षमा लाग्दै गर्दा २०५५ मा चौथो विस्तारित बैठकबाट अनन्त माओवादीको केन्द्रीय सदस्य बने । र, उनको भूमिका इन्चार्जसीपमा रुपान्तरण हुन थाल्यो । त्यो केन्द्रीय समितिमा उमेरले सबैभन्दा कान्छो अनन्त नै थिए । शक्ति बस्नेत, नेत्रविक्रम चन्द विप्लव, हितमान शाक्य, मणी थापा, चक्रपाणी खनाल, रविन्द्र श्रेष्ठ त्यसै विस्तारित बैठकबाट एकसाथ केन्द्रीय समितिमा बढुवा भएका थिए ।
त्यो एउटा त्यस्तो परिघटना थियो, एक साथ सात जना युवा केन्द्रीय समितिमा पुगे र त्यसले माओवादी आन्दोलनलाई निर्णायक मोड दियो । युवाहरुलाई नेतृत्वमा पुग्ने बाटो खुल्यो । २०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट अनन्त वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भए । २०५९ मा भारतको गोवामा बसेको बैठकबाट उनी पूर्ण पोलिट्व्यूरो सदस्य बने ।
२०६२÷२०६३ को शान्तिप्रक्रिया लगतै माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । उनी त्यसमा सदस्य बने । त्यसपछि माओवादी पार्टीमा बन्ने सचिवालय, हेड्क्वाटरमा अनन्त निरन्तर सदस्य छन् । एकीकृत माओवादीको हेटौडा महाधिवेशनपछि विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उनी सचिवमा निर्वाचित भए । माओवादी केन्द्रको कार्यालय सदस्य रहेका अनन्त प्रदेश नं. ५ को ईन्चार्ज समेत हुन् ।
जसले एकसाथ राजनीतिक र सैन्य नेतृत्व ग¥यो
माओवादी जनयुद्धमा अनन्तको नेतृत्वदायी भूमिका अरु नेताको भन्दा भिन्न छ । एक साथ राजनीतिक र सैन्य नेतृत्व गर्ने अनन्त प्रचण्डपछिका एकमात्र नेता हुन् । प्रचण्ड पार्टीको अध्यक्ष र जनमुक्ति सेनाका सुप्रिम कमाण्डर थिए । उनीपछि कमाण्ड ईन्चार्ज र डेपुटी कमाण्डर भएर सैन्य ईन्चार्ज हुने अनन्तमात्रै थिए ।
रोल्पा प्यूठानको ईन्चार्ज, रुकुम सल्यानको ईन्चार्ज र जाजरकोटको ईन्चार्ज भएपछि २०५५ देखि ५९ जेठसम्म अनन्त पश्चिम कमाण्डको सैन्य हेड्क्वाटरको जिम्मा लिए । घर्तिगाउँ, घोराही व्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महतलगायतमा माओवादीले गरेको ठूला कारबाहीहरुमा त्यसक्रममा अनन्त की कमिसार बने कि कमाण्डर ।
पश्चिममा रहँदा माओवादीको सैन्य संरचना बलियो बनाएका अनन्तलाई २०५९ मा पार्टीले पूर्वी नेपालमा खटायो । काठमाडौंदेखि पूर्वीभागलाई समेटेर बनाईएको पूर्वी कमाण्डको ईन्चार्ज मोहन वैद्य ‘किरण’ थिए । त्यसको सेकेण्डम्यान थिए, अनन्त जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत बनेर । पूर्वी कमाण्डको सैन्य कमाण्डर र सैन्य हेड्क्वाटरको ईन्चार्ज बने उनी । माओवादीले त्यहीं बेला हो भोजपुर सदरमुकाम, बन्दीपुरको हाईवेमा लडेको । काठमाडौंमा भएको थानकोट, दधीकोटदेखि साँखुसम्मको कारबाहीहरुको योजनाकार अनन्तनै थिए । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौतीलगायतका आक्रमणमा उनी आफै सहभागी थिए ।
२०६२ को चुनाबाङ बैठकपछि अनन्त जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने । सँगसँगै काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लालाई समावेश गरेर बनाईएको विशेष कमाण्डको राजनीतिक ईन्चार्ज बने । उनी एकसाथ सैन्य कमाण्डर र राजनीतिक ईन्चार्ज बने । त्यसबेलामा पश्चिम कमाण्डको ईन्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’ र पश्चिम कमाण्डको ईन्चार्ज रामबहादुर थापा ‘बादल’ थिए ।
रोल्पामा जनयुद्धको आधार तयार गर्न नेतृत्वदायी भूमिका खेलेका अनन्तले दशवर्षपछि विशेष कमाण्डको ईन्चार्ज बनेर २०६२÷६३ को जनआन्दोलनको आधार तयार गरे । सैन्य र राजनीतिक सन्तुलन मिलाउँदै काम गर्ने क्रममा उनले तत्कालीन सात दलका नेतासँग समन्वय गर्दै जनआन्दोलन सफल बनाउन काभ्रेबाट मात्रै ९१ हजार ६०० जना मानिस काठमाडौं पठाए । त्यसैक्रममा सिन्धुपाल्चोकको चौतारा, पनौती, थानकोट, झुरझुरेजस्ता सैन्य कारबाहीहरु पनि बढाईराखे । ती कारबाहीले जनआन्दोलनको आधार तयार मात्र गरेन सफल बनाउन भूमिका खेल्यो ।
बजेट ल्याउन नपाउँदा पनि देश सम्हालेको अर्थमन्त्री
अनन्त २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर १ बाट विजयी बने । त्यसक्रममा उनले शान्तिप्रक्रियासम्बन्धी धेरै महत्वपूर्ण काम सम्पन्न गरे । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनी नेतृत्वको सरकारमा अनन्तलाई गृहमन्त्रीको रुपमा प्रस्ताव गरियो । ‘गृह मन्त्रालय आएपछि त्यसको जिम्मेवारी लिने गरी’ उनलाई शान्ति तथा पुनःनिर्माण मन्त्री बनाईयो । गृहमन्त्रालय आयो, तर उनलाई गहृमन्त्री बनाइएन । उनले दुई महिनापछि शान्ति मन्त्रालय पनि छोडिदिए ।
२०६८ भदौ ५ गते डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अनन्त अर्थमन्त्री बने । उनी अर्थमन्त्री बन्नु धेरैका लागि आश्चर्यको विषय बनेको थियो । सबैको आलोचना र आशंकलाई मत्थर पार्दै उनले अर्थमन्त्रालय सफलतापूर्वक हाँके, १८ महिना ।
२०७० को संविधानसभा निर्वाचन अनन्त पुनः पूर्व फर्किए, निर्वाचन लड्ने गरी । तर, मोरङ ९ मा कांग्रेस उम्मेदवारसँग पराजित भए । संविधानसभामा नरहे तापनि संविधान निर्माणसम्बन्धी पार्टीका तर्फबाट थुप्रै महत्वपूर्ण काम सम्पन्न गरेका अनन्त २०७४ को निर्वाचनमा रोल्पाबाट ४२ हजार ८४ मतका साथ कांग्रेस उम्मेदवार अमरसिंह पुनभन्दा २१ हजार सात सय ४७ मत अन्तरले विजयी बने ।
अर्थमन्त्री छँदा अनन्तले गरेका ती काम
१८ महिना अर्थमन्त्री हुँदा दुर्भाग्य अनन्तले पूर्ण बजेट ल्याउन पाएनन् । राजनीतिक कोपभाजनमा पर्दा दुई आर्थिक वर्षको पूरक बजेट मात्र ल्याए । तर, उनले त्यो संक्रमणकालमा पनि पूर्ण बजेट ल्याउन नपाउँदा पनि काम गरेर देखाउन सक्छ भन्ने उदाहरण पस्किए ।
उनले केहीं रणनीतिक काम अगाडि सारे । सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीबाट ल्याउने कोशिस गरे । नेपालले वैदेशिक ऋण विश्व बैंक र एशियाली विकास बैंकबाटमात्रै लिइरहेकोमा चीन, यूरोपियन यूनियन, जापान, कुबेती फण्ड, साउदी फण्डलगायतका नयाँ माध्यम, नयाँ ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरे । उनले नेपालले राष्ट्रिय स्वाधिनता, आत्मनिर्णय तथा आफ्नो आवश्यकताअनुसार निर्णय गर्न सक्छ भन्ने पुष्टि गराए ।
उनले २१ वटा परियोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गरे । काठमाडौंको सडक विस्तारका लागि चार अर्ब बजेट अभाव हुँदा अनन्तले त्यो बजेटको व्यवस्था गरे र काठमाडौंको सडक चौडा भयो । ‘आज यो फराकिलो सडकमा हिंड्दा मलाई खुशी लाग्छ’, सडक विस्तारका लागि बजेट व्यवस्था गरेका अनन्तले भन्ने गरेका छन् ।
शान्तिप्रक्रियाका लागि ५ अर्ब आवश्यक थियो । नयाँ बजेट ल्याउन सम्भव थिएन । पूर्वअर्थमन्त्रीहरुले पुरक बजेट ल्याउन सुझाव दिएका थिए अनन्तलाई । धेरै विदेशीहरुले शान्तिप्रक्रियाको क्रममा स्वच्छिक अवकाशमा जानेलाई दिने रकम दिन्छौँ भनेका थिए । तर, अनन्तले पूरक बजेट पनि ल्याएनन्, विदेशीको सहयोग पनि । उनले विदेशीलाई जवाफ दिए, ‘यो हाम्रो शान्तिप्रक्रिया हो, आफ्नै बजेटबाट व्यवस्था गर्छौँ ।’ उनले भएकै बजेटबाट त्यसको व्यवस्था गरे ।
तल्लो वर्ग, तल्लो तहका कर्मचारी, तल्लो तहको जनसमुदायमा प्रभावकारी काम गर्ने उनको दृष्टिकोण रह्यो । त्यसैअनुसार काम गरे । नीजि क्षेत्र, उद्योगको प्रवर्धन गर्न जुनसुकै काम आए पनि, त्यसलाई रोक्ने, वार्गेनिङ गर्ने पूरानो विकृतिको पहिचान गरे र त्यो विकृतिलाई उनले पुरै निरुत्साहित गरिदिए । र, सून्य सहनशीलता अपनाए । संगठित रुपमा हुने भ्रष्टाचारलाई निरुत्साहित गरे । र, बजेट ल्याउन नपाउँदा पनि २२ प्रतिशतभन्दा बढी राजश्व वृद्धि गरे ।
अनन्तले निर्माण सम्पन्न हुन लागेको भैरहवा विमानस्थलका लागि एडिबिबाट रकमको व्यवस्था गरे । पोखरा विमानस्थलका लागि बजेट व्यवस्था गर्न लागि परे ।
मृत्युको मुखबाट फर्किएका अनन्त
युद्धका दौरान अनन्त पटक पटक मृत्युको मुखबाट फर्किएका छन् । डोल्पा सदरमुकाम, अछाम सदरमुकाम मंगलसेन आक्रमणबाट फर्कदा सौभाग्यले बाँचे उनी । पूर्वको कमाण्डर हुँदा बन्दीपुर हाईवेको आक्रमणपछिका घटनामा उनले बाँच्ने आशा मारिसकेका थिए ।
एकपटक महरा र अनन्त सल्यानको बाँफुखोलामा थिए । अनन्तको छोरी भर्खरै जन्मिएकी थिईन । सात दिनकी सुत्केरी थिईन ओनसरी । त्यसै ठाउँमा चारैतिरबाट प्रहरीले घेरा हाल्यो । सुत्केरी ओनसरी साथीहरुसँग जंगलतिर लागिन् । अर्को घरमा रहेका महरा र अनन्त घेरामा परे । अनन्तले पेस्तोलबाट फायर खोले । त्यहीं बेलामा महरा ओरालोतिर झरे । अनन्तले फायर गर्दै महरालाई जंगलमा पु¥याएर बचाए ।
कहिल्यै निराश हुन जानेन
अनन्त आफ्नो राजनीतिक जीवनमा सफल नेता हुन् । छोटो उमेरमा राजनीतिको उचाई चुमेका अनन्त आफूसँग विशिष्ट क्षमता छ भन्ने दावि गर्दैनन् । ईमान्दारिपूर्वक कर्म गर्ने र धैर्यतापूर्वक आशावादी हुने उनको विशेषता हो । हत्तपत्त निराश नहुने नेता अनन्त युद्ध हार्दा निराश भएनन्, सेनाका घेरामा पर्दा पनि आधा घण्टा एक घण्टा निदाउन सक्थे । उनले भन्ने गरेका छन् की ‘धैर्यता, आशावाद र निरन्तरता मेरो विशेषता हो ।’ उनी मेहनत गर्दछन् । धेरैसँग सम्पर्कमा रहन्छन्, माओवादीका समकालीन नेतामा प्रचण्डपछि धेरैसँग भेटघाट गर्ने नेता अननन्त नै हुन् । उनी विरोधीसँग निरन्तर संवाद गर्छन् ।
उनी यसबीचमा गम्भीर विरामी परे । उनको उपचार नेपालमा सम्भव भएन । भारतमा पनि सम्भव भएन । बैंकक पुगेर उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आयो ।
अप्ठ्रामा खटाईने नेता
अनन्त माओवादी जनयुद्धमात्र होइन त्यसपद्धिका राजनीतिक घटनाक्रममा पनि सबैभन्दा अप्ठ्रा ठाउँको जिम्मेवारी सम्हाल्ने नेता हुन् । जनयुद्धको प्रारम्भिक चरणमा उनले मध्यपश्चिमका जिल्लाहरुको नेतृत्व गरेका उनी २०५९ मा उनी पूर्वी नेपालमा खटाईए, उनी नै हुन् पूर्वी नेपालमा माओवादीको आधार तयार पार्ने र जनतामा माओवादी आन्दोलन स्थापित गर्ने ।
२०६२ को सुरुवाततिर काठमाडौं उपत्यका र आसपासका जिल्लामा माओवादीको अवस्था संकटपूर्ण थियो, दर्जनौँ गिरफ्तारीमा परेका थिए, दर्जनौ मारिएका थिए । त्यो अवस्थामा उनलाई उपत्यकाको सैन्य तथा राजनीतिक कमाण्डर बनाईएर खटाईयो । उनी जहाँ गए, त्यहाँ सफल भए । माओवादीमा अनन्तलाई भन्ने गरिन्छ, जहाँ फाल्यो त्यहीं उम्रन सक्ने नेता ।
उर्जा मन्त्रीको जिम्मेवारी
अनन्त केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बन्ने चर्चा थियो । पार्टीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ उपप्रधानसहित कुनै महत्वपूर्ण मन्त्रालय लिने र अनन्त गृहमन्त्री हुने गरी माओवादीले तयारी गरे पनि प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि बादल गृहमन्त्री बने । ओलीले २०७४ चैत २ गते तेस्रो पटक मन्त्री परिषद्को विस्तार गर्दा महत्वपूर्ण मानिएको उर्जा मन्त्रालयका जिम्मेवारी अनन्तले पाएका छन् । अर्थमन्त्री हुँदा सफल मन्त्रीको छवि बनाएका अनन्तले उर्जा मन्त्रालयको जिम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गर्ने धेरैले अपेक्षा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्