प्रधानमन्त्री ओलीको निर्देशन:कर्मचारी सरकारले खटाएको ठाउँमा जानै पर्छ



३ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खटाएको स्थानमा निजामती कर्मचारी जानै पर्ने बताएका छन् । उनले अघिल्लो सरकारले खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको भएपनि वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा नरहेको बताएका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताए । जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानै पर्छ, उनले भने,‘पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन सक्दैन, सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौँ ।’
आवश्यकताको आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँ गयो त्यहीँ सीमित भएर बस्नु पर्दैन, प्रधानमन्त्री ओलीले भने । हिजो कर्मचारीबाट पनि केही तलमाथि भयो होला, हिजो देशको अवस्था पनि बिग्रिएको थियो । सरकारको नेतृत्व पनि बिग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यसकारण कर्मचारी पनि समयअनुसार चल्नु पर्दछ, उनले भने ।
प्रधानमन्त्री ओलीले कर्मचारीलाई विकासमुखी, जनमुखी, सेवामुखी र सुशासनमुखी भएर काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्