रामेछापको गौश्वारालाई जाँडरक्सी र जुवातासमुक्त बनाउने अभियान



६ चैत्र, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वारालाई जाडरक्सी र जुवातास मुक्त बनाउने अभियान सुरु भएको छ । वडा कार्यालयको नेतृत्वमा वडाभित्र जुवातास जाँडरक्सी र धु्रमपानमुक्त अभियान अगाडि बढाएको हो । सामाजिक विकृतिको रुपमा रहेको जुवातास जाँडरक्सी र धुम्रपानलाई नियन्त्रण गर्न चनचेतनामूलक कार्यक्रम अगाडि बढाइएको वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टकल’ले बताए ।


जाँडरक्सी र जुवातासको कारण दैनिक रुपमा समाजमा झैझगडा हुने, परिवारमा बेमेल हुने घटना बढेपछि वडा कार्यालयले यसलाई नियन्त्रण गर्ने अभियान अगाडि बढाएको बताउदै अध्यक्ष मगरले रामेछाप न्युजसँग भने,‘धाराको टुटी सफा गरेर मात्र हुँदैन, मुहानलाई नै सफा बनाउन लाग्नु पर्छ, समाज विकासको बाधकको रुपमा रहेको जाँडरक्सी र जुवातासलाई नियन्त्रण नगरी सभ्य समाज निर्माण गर्न सकिदैन ।’


समृद्ध र सुन्दर गौश्वारा बनाउने अभियानमा वडाका सबै जनताको साथ र सहयोग रहेको बताउदै उनले जनताको सल्लाह सुझाव बमोजिम नै अभियान सञ्चालन गरेको बताए ।


रामेछापको दुर्गम क्षेत्रको रुपमा चिनिदै आएको साविकको गौश्वारा गाविस हाल दोरम्बा–४ गौश्वारामा स्थानीय सरकार गठन भएलगत्तै विकास निर्माणको कामले गति लिनुको साथै सामाजिक विकृति नियन्त्रणको अभियान पनि अगाडि बढेको छ । वडाभित्र भावी पुस्तालाई गुणस्तरीय शिक्षा र संस्कार प्रदान गर्न जाडरक्सी जुवातास र धुम्रपान हटाउनको विकल्प नभएको वडा अध्यक्ष मगरेले ब ताए ।


वडा कार्यालयले स्थानीयको घरमा भएको जाडरक्सी हटाउन २० दिनको सूचना जारी गरेको छ । गाउँलाई मदिरामुक्त, जुवातास मुक्त बनाउने उदेश्यको साथ वडा कार्यालयको नेतृत्वमा गाउँभरी चेतनामूलक र्यालीली समेत निकालिएको छ ।

र्यालीलीमा गौश्वाराका वडा अध्यक्ष मगरसहित वडा सदस्यहरु, स्थानीय शिक्षक, विद्यार्थी, विभिन्न संघ संस्था र प्रहरीको सहभागीता रहेको थियो । वडा कार्यालयबाट जारी भएको सूचना पालना नगरे कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्