कुलमान घिसिङको घोषणाः डेढ बर्षभित्र ८ सय मेगावाट विद्युत



६ चैत्र, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ ।

स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युतमा आत्मनिर्भर बन्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ ।

यस्तै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ साल मंसिर मसान्तमा सम्पन्न हुनेछ । सरकारले सो आयोजनामा सबै प्रकारको सहयोग उपलब्ध गराएको छ ।

यस्तै भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भने आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरिएको छ । यस्तै चालू आवभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्ने भनिए पनि निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ ।
यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी तीन वर्षभित्र प्राधिकरण र सहायक कम्पनीका करीब एक हजार मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्