रामेछापको फुलासीमा ३ मेगावाटको जलविद्युत परियोजना निर्माण हुँदै, रामेछापवासीलाई ३० प्रतिशत सेयर



नारायण श्रेष्ठ
९ चैत्र, रामेछाप ।
सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले रामेछापको फुलासीमा ३ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य तीब्र गतिमा अगाडि बढाएको छ । मन्थली नगरपालिकाको १३ र १४ नम्बर वडास्थित फुलासीमा जलविद्युत आयोजना निर्माण हुन लागेको हो ।

२१ महिना अघिबाट निर्माण कार्य सुरु भएको आयोजनाको अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भएको सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका सदस्य रामबहादुर तामाङले रामेछाप न्युजलाई बताए । उनले भने,‘कोरियामा बसेका नेपालीहरुको लगानीमा आयोजना निर्माण हुन लागेको हो,२०७५ मंसिर १ गते आयोजना सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ ।’


सञ्चालकले चालिस प्रतिशत लगानी जुटाउनु पर्ने र बाँकी बैंकहरुले लगानी गर्ने बताउदै तामाङले तोकिएको मितिभित्र काम सम्पन्न गर्नको लागि आफूहरु लागि परेको बताए । जलविद्युत आयोजना निर्माणको गर्ने जिम्मेवारी थोदुङ÷वाइबा जेभी एण्ड लामा कन्ट्रसनले लिएको छ । लामाका अनुसार आयोजना निर्माणको लागि ५४ करोड रुपैयाँ खर्च हुनेछ ।
आयोजानको अहिले पाइपलाइन विस्तारको लागि सडकको ट्रयाक ओपन गर्ने काम भइरहेको बताउदै लामाले रामेछाप न्युजसँग भने,‘डयामदेखि पावर हाउसँगको दुरी २ सय १८ मिटर रहेको छ ।’
सानो मिल्ती खोला आयोजना निर्माणको लागि कोरियामा रहेका नेपालीहरुले एसएम इन्भेष्ट ग्रप बनाएर लगानी जुटाइरहेका छन् । सदस्य लामाले रामेछापवासीलाई तीस प्रतिशत सेयर दिलाउनको लागि कानुनी प्रक्रिया पूरा गर्ने गृहकार्यमा रामेछाप न्युजलाई बताए । उनका अनुसार अहिले पनि आयोजनामा प्रोमोटर सेयर हाल्न प्रावधान रहेको छ । उत्पादित विद्युत किर्णेटार सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्