सरकारले सार्वजनिक विदा कटौती गर्ने, अब बर्षमा कति दिन विदा ?



१० चैत्र, काठमाडौं ।
सरकारले धार्मिक र विभिन्न समुदायका चाडपर्वका लागि दिइदै आएको सार्वजनिक बिदा कटौती गर्ने भएको छ । बिदा सम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर मन्त्रीपरिषद्मा पेश गर्न पठाइसकेको छ ।

गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए । शर्माले भने, हामीले कुन दिन बिदा दिनुपर्ने र कुन दिन नदिँदा हुने भनेर रायसहित पठाएका छौँ । सरकारले आवश्यक निर्णय गर्छ, त्यसमा केही थपघट हुनसक्छ ।

धार्मिक र सांस्कृतिक बिदा त्यही समुदाय र वर्गमालाई मात्र दिन सकिने र सेवाग्राहीको दैनिक कामकाजमा प्रभाव पार्न नहुने शाखाको प्रस्ताव छ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीलाई प्रभाव परेको भन्दै सरकारले सार्वजनिक बिदा कटौति गर्ने तयारी गरेको हो ।

गृहले हाल दिइँदै आएको बिदामा २१ दिन कटौती गर्न प्रस्ताव गरेको छ । सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिन सम्म सार्वजनिक बिदा दिँदै आएको छ ।

गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्ष देखि ८४ दिन मात्रै बिदा दिने गरी सरकार समक्ष प्रस्ताव लगेको छ ।

सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्ता सुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासा अत्यधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदा धेरै हुँदा विकास निर्माण र सेवा प्रवाहका कार्य प्रभावकारी हुन नसकेकाले बिदा कटौती अत्यावश्यक रहेको बताए । मन्त्री पण्डितले सिंगापुरमा वर्षमा ८ दिन मात्रै सार्वजनिक बिदा हुने गरेको सन्दर्भ उल्लेख गर्दै बढी बिदा दिनु सरकारीस्तरमा काम चोर संस्कृति मौलाउनु भएको दाबी गरे ।

हाल एक वर्षमा ५२ दिन शनिबारको बिदा हुँदै आएको छ भने बाँकी ५३ दिन विभिन्न चाड तथा दिवसको अवसरमा बिदा हुने गरेको छ । अब भने गृहले चाडपर्व र दिवसका अवसरमा दिँदै आएको ५३ दिनको सार्वजनिक बिदालाई घटाएर ३२ दिनमा सीमित गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्