रामेछापको गाउँगाउँमा पुगेन सिंहदवार, जनतालाई झनै सास्ती



१० चैत्र, रामेछाप ।
स्थानीय तहको निर्वाचन अघि राजनीतिक दलका उम्मेदवारहरुको नारा नै बनाएका थिए–गाउँगाउँमा सिंहदरवार । संविधानले पनि स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । नागरिकता जारी गर्ने बाहेक धेरै अधिकार स्थानीय तहले पाएको पनि छ । स्थानीय सरकार बनेको झण्डै एक बर्ष पुग्न लाग्दा समेत गाउँगाउँमा सिंहदरवारको नारा भने गफमा नै सीमित बन्न पुगेको छ । अहिले पनि रामेछापको गाउँगाउँमा सिंहदरवारको अधिकार आइपुग्न सकेको छैन् ।
स्थानीय सरकार गठन भएको दस महिना वितिसकेको छ । तर गाउँघरमा जनताले परिवर्तनको प्रत्याभूति भने खासै गर्न सकेका छैनन् । गाविस जोडिएर वडामा रुपान्तरण भयो । गाविसको स्थानमा गाउँपालिकाकाको साइनवोर्ड झुण्डिएको छ । तर स्थानीयस्तरमा बैकिङ सेवा नहुँदा जनताले परिवर्तनको महशुस गर्न पाएका छैनन् ।

गाउँपालिकामा विगतमा साविक गाविसहरुमा झण्डै वीस लाख रुपैयाँ बजेट जान्थ्यो । तर अहिले एउटा स्थानीय तहको लागि कम्तिमा पनि पच्चिस करोड भन्दा बढी बजेट आएको छ । तर बैंकको शाखा सञ्चालन हुन नसक्दा बजेटको भुक्तानी गर्नको लागि उपभोक्ताहरु सदरमुकाम धाउन बाँध्य छन् ।
उपभोक्ता समितिलाई सदरमुकाम धाउदैमा सास्ती
निर्वाचनको क्रममा राजनीतिक दलका उम्मेदवारको घोषणा सुन्दा नागरिकहरुले सोचेका थिए–अब सानो तिनो कामको लागि घण्टौ धाएर सदरमुकाम धाउन पर्दैन । तर स्थानीय सरकारले अहिलेसम्म गाउँमा बैंकको शाखा स्थापना गराउन सकेको छैन् । गाउँपालिकामा विकास निर्माणको सयौ योजना अगाडि बढेका छन् । अधिकाशं विकास निर्माणको काम अहिले उपभोक्ता समिति मार्फत नै निर्माण भइरहेको छ । एक लाखदेखि पचास लाखसम्मको उपभोक्ता समिति गठन गरेर नै काम भइरहेको छ । सबै उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष रकम भुक्तानीको लागि जिल्ला सदरमुकाम मन्थली धाउन बाँध्य छन् ।
कार्यकारी र लेखापालको पनि मन्थली धाउदैमा हैरान
बैंक नहुँदा गाउँपालिकाभित्र गठन भएका उपभोक्ता समितिका पदाधिकारीले मात्र होइन गाउँपालिकाका कार्यकारी अधिकृत र लेखापालको पनि बास सदरमुकाम मन्थलीमा नै हुने गरेको छ । उपभोक्ता समितिलाई भुक्तानी दिनको लागि पनि कार्यकारी अधिकृत, लेखापाल र प्राविधिक पनि चाहिने भएकाले सदरमुकाममा जान बाँध्य भएका छन् ।
गोकुलगंगा गाउँपालिकामा खुल्यो सिद्धार्थ बैंक
रामेछापको छ वटा गाउँपालिका मध्ये गोकुलगंगा गाउँपालिकाको केन्द्रमा भने गत एक महिनादेखि सिद्धार्थ बैंक सञ्चालनमा आएको छ । गाउँपालिकामा बैंक स्थापना भएपछि गाउँघरमा उपभोक्ता समिति मार्फत हुने विकास निर्माणको कामको भुक्तानी लिन जनतालाई निकै सहज भएको छ । बैंकको कामले नै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सदरमुकाम मन्थली धाउनु पर्ने बाँध्यता हटेको छ । गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बैंक सञ्चालनमा आएपछि गाउँपालिकामा ठूलो राहत भएको रामेछाप न्युजलाई बताए ।
पाँच वटा गाउँपालिकामा कहिले खुल्छ बैक ?
रामेछापको आठ वटा स्थानीय तह मध्ये मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा स्थानीय सरकार गठन हुनु अघि नै बैंक सञ्चालनमा थिए । स्थानीय सरकार गठन भएपछि गोकुलगंगा गाउँपालिकामा भने बैंकको शाखा सञ्चालनमा आएको छ । जसको कारणले गाउँपालिकामा उपभोक्ता समिति मार्फत हुने विकास निर्माणको कामको भुक्तानी लिन मन्थली धाउनु पर्ने बाँध्यता हटेको छ । बाँकी पाँच वटा गाउँपालिकामा भने बैंक सञ्चालनमा आउन सकेको छैन् ।
सदरमुकाम मन्थलीमा नौ वटा बैंकको शाखा
गाउँगाउँमा सिंहदरवारको नारा दिए पनि रामेछापका पाँच वटा गाउँपालिकामा अझै बैंक स्थापना हुन सकेको छैन् । सरकारले प्रत्येक स्थानीय तहमा एउटा बैंकको शाखा सञ्चालन गर्ने निर्णय गरेपछि कार्यान्वय हुन सकेको छैन् । राष्ट्र बैंकले स्थानीय तहमा विस्तार हुने बैंकको शाखाको नामावली सम्बन्धित स्थानीय तहमा पठाए पनि बैंकहरुले स्थानीय तहमा शाखा विस्तार गर्ने जाँगर देखाएका छैनन् । जसको कारणले जनताले स्थानीय सरकारको प्रत्याभूति समेत गर्न पाएका छैनन् । जिल्ला सदरमुकाम मन्थलीमा हाल नौ वटा भन्दा बढी बैंकका शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्