खिम्ती–२ जलविद्युत आयोजना तीन बर्षमा सम्पन्न हुने, रामेछापवासीले सेयर हाल्न पाउने



चैत्र ११, काठमाडौं ।

रामेछाप र दोलखाको सीमानामा निर्माण हुन लागेको ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजना तीन बर्षभित्र निर्माण सम्पन्न हुने भएको छ । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको जलविद्युत आयोजना निर्माणको काम तीन बर्षभित्र सम्पन्न हुने भएको हो ।
रामेछाप र दोलखाको सीमामा निर्माण हुने आयोजनामा चीनको चोङक्विङ वाटर टर्बाइन वर्क्स .(सिडब्लूटिडब्लू) ले ८ करोड ८० लाख अमेरिकी डलर लगानी सहित निर्माणको ठेक्का पाएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्ने उक्त आयोजनाका लागि लगानी भित्र्याउने तथा ठेक्काका विषयमा गत फागुन ३० १४ मार्च, २०१८० गते चीनमै सम्झौता भएको थियो । चिनियाँ कम्पनीसँगको दर्जनौं छलफलपछि मात्र लगानी जुटाउने र ठेक्का सम्झौता गर्ने चरणमा पुगेको कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताए ।

‘निर्माण सुरु भएको ३ वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । चीनको सरकारी कम्पनीले करिब ९ अर्ब लगानी गर्ने इपिसी–एफ .(इन्जिनियरिङ, प्रोक्योरमेन्ट, अन्सट्रक्सन र फाइनान्स) कुनै कम्पनीले आफैँ लगानी जुटाएर आयोजनाको सम्पूर्ण निर्माण गर्ने मोडल हो । आयोजनामा लगानी जुटाउने विषयमा यसअघि सानिमा बैंकको अगुवाईमा ९ बैंकले ऋण लगानी गर्ने सम्झौता भएको थियो । तर, प्रवर्द्धक लगानी ल्याउने र निर्माण एउटैले गर्ने कम्पनीको खोजीमा थिए ।
आयोजना निर्माण अवधिको ब्याजसहित ८ करोड ८० लाख अमेरिकी डलर अर्थात करिब ९ अर्ब १५ करोड रुपैयाँ) अनुमान गरिएको छ । सुरुमा ठेकेदारलाई कूल लागतको १० प्रतिशत रकम उपलब्ध गराउने सर्त छ । बाँकी रकम आयोजनाबाट विद्युत उत्पादन भएको ७ सय दिन अर्थात करिब २ वर्षमा भुक्तानी गर्नुपर्नेछ । कम्पनीले कुनै कारणवश भुक्तानी दिन नसके वित्तीय व्यवस्थापन हुँदा सम्झौता गरेका बैंकबाट ऋण लिएर तिर्नेछ ।

फागुन ३० गते ठेक्का सम्झौता भएअनुसार उक्त मितिबाट ३ वर्षभित्र (२०७८ असारसम्म) आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट विद्युत उत्पादन भएको पहिलो वर्ष १ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने आचार्यले जानकारी दिए । विद्युत खरिद सम्झौता (पिपिए) मा ८ पटकसम्म मूल्य वृद्धिको सुविधा दिइएको छ । जसअनुसार उत्पादनको ९औं वर्षमा आम्दानी १ अर्ब ७४ करोड रुपैयाँ पुग्ने अनुमान आयोजनाले गरेको छ । यसले चिनियाँ कम्पनीलाई लगानी भुक्तानी दिन समस्या नहुने कम्पनीको दाबी छ ।

साढे ६ किलोमिटर सुरुङमार्ग रहने आयोजना अन्तर्गत हाल विद्युत गृह, अडिट टनेल, बाँधस्थलसम्म पुग्ने सडकको काम अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा पिपुल्स इनर्जी लिमिटेडका सञ्चालकह अर्जुन कार्की, टंकलाल घिसिङ (टलक), महेन्द्रबहादुर कार्की, बिमल केसी लगायतको सहभागीता रहेको थियो । खिम्ती–२ जलविद्युत आयोजनामा रामेछापवासीले प्रभावित सेयर र साधारण सेयर हाल्न पाउने आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्