रामेछापको खाँडादेवी गाउँपालिकामा कहिले खुल्छ बैंक ?



११ चैत्र, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकाका समयमा नै बैंक स्थापना नहुँदा स्थानीयले निकै सास्ती पाएका छन् । सरकारले प्रत्येक गाउँपालिकाभित्र एउटा बैंकको शाखा स्थापना गर्ने निर्णय गरेपनि प्रभावकारी रुपमा कार्यान्वय हुन सकेको छैन् ।

नौ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा बैंक सञ्चालन नहुँदा स्थानीय सरकारले गर्ने विकास निर्माणको कामको भुक्तानी लिन जिल्ला सदरमुकाम मन्थली धाउनु पर्ने बाँध्यता रहेको छ । खाँडादेवी गाउँपालिकामा लक्ष्मी बैंकको शाखा विस्तार गर्नको लागि बैंकले घरधनीसँग सम्झौता गरेपनि बैंक सञ्चालनमा आउन सकेको छैन् । बैंक स्थापना गर्नको लागि पक्की घर र सुरक्षाको व्यवस्थापन गाउँपालिकाले गरेपनि बैंकले शाखा विस्तारको लागि बहानाबाजी गर्दै आएको गुनासो गाउँपालिकाको छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले लक्ष्मी बैंकको शाखा स्थापना गर्ने भनिए पनि सहज रुपमा गाउँपालिकामा शाखा विस्तार गर्न इच्छा शक्ति नदेखिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘कोसिश हामीले गरिरहेका छौ, अब छिट्टै हुन्छ होला ।’ बैंक स्थापना गर्नको लागि बैंकले पक्की घरसँग सम्झौता गरेको लामो समय वितिसक्दा समेत शाखा सञ्चालन गर्न इच्छा नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

चैत्र मसान्तभित्र शाखा स्थापना गर्ने प्रतिबद्धता जनाएपछि बैंक आउला कि भन्ने प्रतिक्षामा बसेका छौ, उनले भने । बैंकले इच्छा नदेखाएपछि अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर नै गाउँपालिकाको समस्या राखेको अध्यक्ष तामाङले बताए ।

जवाफमा अर्थमन्त्री खतिवडाले चैत्र महिनाभित्र पनि बैंकले शाखा विस्तार नगरे लक्ष्मी बैंकलाई कारवाही गरेर नयाँ बैंकलाई पठाउने आश्वासन दिएको तामाङले रामेछाप न्युजलाई बताए । यस आर्थिक बर्षको लागि गाउँपालिकासँग ३२ करोड ३२ लाख रुपैयाँ बजेट रहेको छ । गाउँपालिकामा बैंक नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्