सूर्यविनायक–धुलिखेल सडकमा पनि सुरुङमार्ग बन्ने



१५ चैत्र, काठमाडौं ।
सरकारले जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडकखण्डमा सुरुङमार्ग बनाउने भएको छ । धुलिखेलबाट बनेपा हुँदै काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने सवारी साधनका लागि सुरुङ बनाउन लागिएको हो । जापानको कम्पनीले नै चासो देखाएर प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए ।

सूर्यविनायकबाट साँगा हुँदै जाने यो सडकमा दुई तर्फी सुरुङमार्ग बनाउने गरी प्रारम्भिक सम्भाव्यता अध्ययन सकिएको श्रेष्ठले बताए । उनले भने, ‘सूर्यविनायकबाट एक दशमलव २९ किमि दूरीको सुरुङमार्ग काठमाडौंबाट बाहिरिने र सोही स्थानमा १ दशमलव २३ किमिको सुरुङ भने प्रवेशका लागि बनाइने भएको छ । भौगोलिक बनावटका कारण काठमाडौंबाट बाहिरिने भन्दा भित्रिने दूरी ६ मिटर छोटो हुने प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ ।

एउटै मुखमा आएर मिल्ने यस्तो सुरुङमार्ग जाने र आउने गरी दुई वटा हुने छन् । विभागका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेल जाने सडकमा धेरै घुम्ति र जोखिमपूर्ण यात्रा भएकाले पनि सुरुङमार्ग बनाउन लागिएको हो । यो सुरुङमार्ग बारे जापानिज कम्पनीले नै प्रारम्भिक अध्ययन गरेको हो । यो अध्ययनपछि जापानिज टोलीको एउटा मिसनले स्थलगत अध्ययन गरेर फर्किएको छ । जापानिज टोलिको फ्याक्ट फाइन्डिङ मिसनपछि अर्को नयाँ मिसन पनि आउने भएको छ । यो मिसनपछि मात्रै डीपीआरको प्रक्रिया अगाडि बढ्ने जानकारी श्रेष्ठले दिए । सुरुङमार्ग बनाउनु सडक निर्माण भन्दा धेरै खर्चालु हुने भएकाले पनि दातृ निकायकै भर पर्नु पर्ने बाध्यता छ।
अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्