गोकुलगंगा गाउँपालिकालाई लाखौ फाइदा, स्थानीयले निशुल्क दिए ३० रोपनी जग्गा



५ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्नको लागि स्थानीयले लाखौ पर्ने जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाको कार्यालयदेखि विभिन्न सरकारी कार्यालय स्थापना गर्नको लागि गाउँपालिकाको केन्द्र रस्नालुको भिमसेनथाका स्थानीयले तीस रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका हुन् । गाउँपालिकाको केन्द्र रहेको भिमसेनथानमा नै स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएपछि गाउँपालिकाको लाखौ रुपैयाँ बजेट जोगिएको छ ।
जग्गा खरिद गर्नको लागि खर्च हुने बजेटले गाउँपालिकाको भवन निर्माण हुने भएको छ । गाउँपालिकाको सक्रियता र स्थानीयको सहयोगी भावनाको कारण लाखौ पर्ने जग्गा निशुल्क रुपमा गाउँपालिकाको नाममा आउने क्रम सुरु भएको छ ।
गोकुलगंगा गाउँपालिका–३ रस्नालुका वडा अध्यक्ष नरविक्रम कार्कीले नौ रोपनी जग्गा गाउँपालिकाको नाममा आइसकेको र बाँकी जग्गा कित्ताकाट मार्फत आउने क्रममा रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकालाई आर्थिक भार कम होस भनेर स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ, उहाँहरुप्रति गाउँपालिका निकै खुसी छ ।’
गाउँपालिकाको केन्द्र स्थापना हुने क्षेत्रमा भवन लगायतका भौतिक संरचना निर्माण गर्नको लागि कम्तिमा पनि तीस रोपनी जग्गा आवश्यक पर्छ । स्थानीयले स्थापना भइसकेको गाउँपालिकाको केन्द्र अन्यत्र नजाओस भनेर पनि निशुल्क जग्गा दिन तयार भएका हुन् ।

यसै बर्षभित्र गाउँपालिकाको नयाँ भवनः प्रवक्ता खड्का
गोकुलगंगा गाउँपालिकाका प्रवक्ता समेत रहेका गाउँपालिका–५ नामाडीको वडा अध्यक्ष बलराम खड्काले गाउँपालिका अन्तर्गत जग्गा आउने क्रम सुरु भएकाले यसै बर्षभित्र भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताए ।

उनले अहिले गाउँपालिकाको कार्यालय भाडामा भएकाले यसै आर्थिक बर्षभित्र नै प्रि–फ्याक भवन निर्माण गर्ने योजना अगाडि सारिएको बताए । गाउँपालिकाले दुई करोड लगानीमा दुई महिनाभित्र नै तयार हुने वीस कोठे भवन निर्माण गर्न लागेको हो । गाउँपालिकाले एकीकृत रुपमा कार्यालय स्थापना गरेर जनतालाई सुविधा दिने उदेश्य लिएको छ । आगामी असारसम्म भवन निर्माण गरिसक्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको प्रवक्ता खड्काले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्