भारतीय प्रधानमन्त्री मोदी जेठ ११ मा नेपाल आउने



८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने भएका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने कार्यक्रम तया भएको बताएको छ ।
भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८ )मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । सोहीले प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो देखिएका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएका थियो ।

नेपाल भ्रमणका क्रममा मोदीले जनकपुरधामसमेत भ्रमण गर्ने गरी तयारी भएको बताइएको छ । यस अघिको भ्रमणमा हुँदा समय अभावको कारण जनकपुर जान सकेका थिएनन ् ।
नेपाल आएका बेला मोदीले ठूलो रकमको सहयोग घोषणा गर्ने सम्भावना छ। साथै अरुण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्नसमेत मोदीले ईच्छा प्रकट गरेका छन्

भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा सार्क बैठकका बेला नेपाल आएका थिए । त्यसबेला उनले धार्मिक महत्वको जनकपुरधामस्थित रामजानकी मन्दिरको दर्शन गर्ने बताइएको थियो । तर, सो भ्रमण स्थगन भएको थियो ।

मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ । पहिलोचोटि नेपाल आउँदा मोदीले संसदमा गरेको भाषण र गौशालामा गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाएपछि उनलाई नेपालीहरुले प्रशंशा गरेका थिए । दोस्रोपटकको भ्रमणमा नेपालको संविधान र मधेस मामिलाबारे दिएको अभिव्यक्तिले मोदी आलोचित बने ।

प्रतिक्रिया दिनुहोस्