चौरीखोला–डडुवा सडक कालोपत्रे गर्न डिपिआरको काम अघि बढ्यो



८ वैशाख,रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाभित्र मुख्य सडक कालोपत्र गर्नको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम अगाडि बढेको छ । गाउँपालिका–७ थापागाउँदेखि गाउँपालिकाकै वडा नम्बर १ डडुवाको दुधौली भञ्ज्याङसम्मको सडक कालोपत्रे गर्नको लागि डिपिआरको काम अगाडि बढेको हो ।


चौरीखोलादेखि डडुवासम्म करिब ५० किलोमिटर सडकको डिपिआर निर्माणको लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आजबाट सडकको डिपिआर तयार गर्नको लागि प्राविधिकहरुले काम अगाडि बढाएका छन् । गाउँपालिकादेखि सदरमुकाम मन्थली र दोलखा जिल्लासँग जोडने मुख्य सडकको रुपमा रहेको सडकलाई आगामी बर्षबाट नै कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गाउँपालिकाले गरेको छ ।


गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले एक महिनाभित्र डिपिआरको रिपोर्ट आउने र सडक कालोपत्रे गर्नको लागि प्रदेश सरकार र केन्द्र सरकारसँग आग्रह गर्ने बताए । उनले भने,‘गाउँपालिकाको महत्वपूर्ण सडक कालोपत्रे गर्नको लागि गाउँपालिकाले पनि बजेट विनयोजन गर्छ ।’


गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले चौरीखोला–डडुवा सडक राजधानी काठमाडौं र सदरमुकाम मन्थली जोडने मुख्य मार्गको रुपमा निर्माण गर्न लागिएको बताएन । गाउँपालिकाको केन्द्र जोडने मुख्य सडकहरु मध्ये गाउँपालिका–७ को चौरीखोलाको सीमानादेखि डडुवाको दुधौलीसम्म सडकको डिपिआर तयारको लागि काम सुरु भएको वडा नम्बर ७ का वडा अध्यक्ष रेम थापामगरले बताए ।

गाउँपालिकाले चौरीखोला–पुडीटार–थापागाउँ–डोरखानी–डोप्ला–थरभञ्याङ–पुन्च्यात–टोकरपुर–ओख्रेनी–दहपतल–देउराली–खलंगा–सिनेडाँडा–नागी–मझुवा हुँदै दोलखाको सीमाना दुधौलीसम्म सडकको डिपिआर गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्