सिन्धुलीमा विप्लवका दुई कार्यकर्ता बम सहित पक्रउ परे



८ वैशाख, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी विप्लव नेतृत्वका दुई जना कार्यकर्ता पक्राउ गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट शुक्रवार दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा शनिवार पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेललाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक विनोद शर्माले जानकारी दिए ।

पक्राउ गरिएकामध्ये बस्नेत यस भन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट रु दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन् ।

उनीहरुको साथबाट जिलेटिन–नियोजेल ९०, ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३ हजार ८सय नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्