‘एक दिन कोरिया एक राष्ट्रको रुपमा एकीकरण हुनेछ’ – किम जोङ्ग उन



सिओल । युद्धविराम भएको ६५ वर्ष पछि दुई कोरियाली नेताहरुले कोरियाली युद्ध अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् । शुक्रबार भएको बृहद पक्षहरु समेटेको सम्झौतामा हस्ताक्षर गर्दै उनीहरुले कोरियाली प्रायद्वीवपलाई आणविक हतियार मुक्त बनाउने बाचा गरे ।

दक्षिण कोरियाली राष्ट्रपति मून जे–ईन र उनको उत्तर कोरियाली समकक्षी किम जोङ्ग उनले कोरियाली प्रायद्विपमा ‘शान्ति, समृद्धी र एकीकरणको प्यानम्युनजोम घोषणापत्र’मा हस्ताक्षरको अवसर यस्तो वाचा गरेका हुन् ।

हस्ताक्षरपछि दुई नेताहरुले ताली बजाए र एक अर्कालाई अङ्गाले । उनीहरुबीच दिनभरी चलेको बैठकलाई विश्वभर प्रत्यक्ष प्रशारणमार्फत देखाइएको थियो ।

एक अलग भाषणमा उनीहरुले कोरियाली प्रायद्वीपमा नयाँ युग शुरुवात गर्ने प्रतिबद्धता जनाए । विश्व मिडियालाई सम्बोधन गर्दै किमले “कोरिया एक राष्ट्रको रुपमा एकिकरण हुने” बताए ।

तीन पृष्ठको सहमतिले चरणबद्ध रुपमा निसशस्त्रीकरण गरेर कोरियालाई आणविक अस्त्र मुक्त बनाउने बताएको छ ।

दुई कोरिया सन् १९५० मा एक अर्का विरुद्ध युद्धमा गएका थिए । त्यसको तीन वर्षपछि युद्धविराम भएको भए पनि कुनै औपचारिक शान्ति सम्झौता हस्ताक्षर गरिएन । त्यसैले प्राविधिक रुपमा अहिले पनि दुई देश युद्धमा छन् ।
“दुई नेता गम्भिरताका साथ घोषणा गर्दछौं कि कोरियाली प्रायद्विपमा अब कुनै युद्ध हुनेछैन र शान्तिको नयाँ युग शुरु भएको छ,” घोषणापत्रमा भनिएको छ ।

घोषणको प्रमुख बुँदाहरु :
–‘कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने उद्देश्यले’ अमेरिका र चीन समेत समावेश चार पक्षीय बैठक गरिने

–एक अर्कालाई चिड्याउने खालका सबै कार्यहरु बन्द गर्ने र गैर सैनिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’को रुपमा विकास गरिनेछ ।

–कोरियाली युद्धले विभाजित गरेका परिवारहरुको पुनरमिलन कार्यक्रम यो वर्षको अगष्ट १५ बाट शुरु गर्ने

–कोरियाको सिमाना नजिक रहेको किसोङ्ग साझा आर्थिक क्षेत्रमा संयुक्त सम्पर्क कार्यालय खोल्ने

–दुई देशको सबै सरकारी तहबीच नजिकको कुटनैतिक सम्बन्ध कायम गर्ने

–अन्तराष्ट्रिय समारोहहरुमा सयुक्त टिम पठाउने । यसको शुरुवात सन् २०१८ को एसियाली गेमबाट गर्ने ।

प्रतिक्रिया दिनुहोस्