समाज परिवर्तन गर्ने जनप्रतिनिधिको अठोटःफेरिदै दोरम्बा गाउँपालिका



१६ वैशाख, रामेछाप
सामाजिक विकृतिको रुपमा रहेको जाँड रक्सी र जुवा तासले गाउँगाउँमा गलत संस्कारको विकास हुँदै गएको छ । गाउँघरमा रहेका युवाहरु पनि जाड रक्सी र जुवा तासको कुलतमा पर्दा महिला हिंसाको घटना मात्र बढेको छ । दोरम्बा गाउँपालिकामा जनप्रतिनिधिहरु आएसँगै समाजिक विकृतिको रुपमा रहेका जाडरक्सी नियन्त्रणको अभियान सुरु भएको छ ।

पाँच महिना अघि दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले जाडरक्सी नियन्त्रण अभियानको सुरुवात गरेका थिए । गाउँघरमा जाडरक्सीकै कारण झैझगडा मात्र होइन होइन, ज्यान नै जानेसम्मको वातावरण सृजना भएपनि सार्वजनिक स्थानमा जाडरक्सी खान नपाउने नियम दोरम्बा वडाले बनाएको छ ।
अभियान सुरु भएपछि खुल्मखुल्ला जाँडरक्सी खाएर सार्वजनिक स्थानमा होहल्ला गर्ने र झैझगडा गर्ने क्रम घटेको वडा अध्यक्ष श्रेष्ठ बताउछन् । ‘हामीले केही स्थानमा त जाड फ्याक्ने अभियान पनि अगाडि बढायो, केही व्यक्तिको विमति बाहेक धेरैको जोड अहिले पनि जाड रक्सी नियन्त्रण गर्नुपर्छ भन्नमा छ ।’

दोरम्बा गाउँपालिकाभित्र परम्परागत चाड पर्वमा मात्र होइन दैनिक रुपमा जाड रक्सी खाने, झगडा गर्ने क्रम बढेसँगै दोरम्बा गाउँपालिकाले नै जाड रक्सी नियन्त्रणको अभियान अगाडि बढाएको छ । गाउँपालिकाले सात वटै वडाभित्र जाड रक्सी नियन्त्रण गर्ने रणनीति बनाएको छ । गाउँपालिका–४ गौश्वारा पनि जाड रक्सी नियन्त्रणको अभियान अगाडि बढेको छ । दुई महिना अघि वडा अध्यक्ष चन्द्र बहादुर मगरको नेतृत्वमा स्थानीयको सहयोगमा जाड रक्सी नियन्त्रणको अभियान अगाडि बढेको थियो ।
वडा अध्यक्ष मगर भन्छन,‘इच्छा शक्ति हुने हो भने समाजमा रहेको विकृति र विसंगती हटाउन सकिन्छ, सुरुमा सकिदैन कि भन्ने केही व्यक्तिलाई लागेको थियो, तर आँट गरेपनि अहिले क्रमश सार्वजनिक स्थानमा जाड रक्सी खाने र होहल्ला गर्नेको संख्या घटेको छ ।’ आफूहरु यो अभियानलाई निरन्तता दिने पक्षमा रहेको उनले रामेछाप न्युजलाई बताए ।
गाउँपालिकाले सात वटै वडाभित्र नै जाड रक्सी जुवा तास नियन्त्रण गर्ने अभियान अगाडि बढाएको छ । गाउँपालिकाको केन्द्र टोकरपुरलाई पनि मदिरा नियन्त्रण गर्ने अभियान अगाडि बढाएको छ । गाउँपालिकाको पहलमा सो अभियान अगाडि बढेको हो । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले भने,‘सामाजिक विकृतिको रुपमा रहेको जाड रक्सीलाई नियन्त्रण गर्नुको अर्को विकल्प छैन, सामाजिक स्थानमा जाड रक्सी खाएर होहल्ला काम अब बन्द गर्नुपर्छ । विकास निर्माणको कामसँगै सामाजिक रुपमा गर्नुपर्ने सुधारलाई पनि प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष मोक्तान बताउछन ।


गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले परिवारमा कलह, झैझगडाको मुख्य कारण नै जाड रक्सी र जुवा तास रहेको बताउदै समस्याको मुहान नै पहिचान गरेर सफा गर्ने अभियानमा लागेको रामेछाप न्युजलाई बताइन । जाड रक्सीको कारण गाउँघरमा महिला हिंसाको घटना समेत बढेको छ । गाउँपालिकाको केन्द्रमा मादक पदार्थ सेवन गर्ने र झैझगडा गर्ने खालको जनगुनासो आएपछि गाउँपालिकाले नै अभियान सुरु गरेको हो ।
दोरम्बा गाउँपालिका–३ टोकरपुरका वडा अध्यक्ष लालबदन मगरले जाड रक्सी नियन्त्रण गरेर सभ्य समाज निर्माणको काममा अगाडि बढेको बताउछन । गाउँपालिकाको अगुवाइमा प्रहरी कार्यालय, विभिन्न, गैर सरकार संघसंस्था, विद्यालयका शिक्षक, विद्यार्थी, बाल सञ्जालका प्रतिनिधिहरु, महिलाहरुले अभियानमा साथ दिएका छन् । गाउँपालिकाले मादक पदार्थ सेवन गरेमा र पादक पदार्थ सेवन गर्ने दिने दुवैलाई जरिवान सहित कडा कारवाही गर्ने चेतावनी दिएको छ । साँझ पाँच बजेदेखि दस बजेसम्म प्रहरीले बजार क्षेत्रमा गस्ती गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । अब होटल व्यवसायीहरुले राती आठपछि होटल सञ्चालन गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्