चीन नेपालमा लगानी गर्न इच्छुक छः सांसद श्रेष्ठ



१७ वैशाख, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ ‘कुशल’ले चीन नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । उनले चीन नेपालका राष्ट्रिय गौरवको आयोजनाहरुमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।


रेल वे चाइना, इनर्जी चाईना र सिटीसि चाइनाको निमन्त्रणामा सांसद श्रेष्ठको नेतृत्वमा गएको तीन सदस्य टोलीले रेल वे र इनर्जी चाइनाका प्रतिनिधिहरुसँग छलफल गर्दै नेपालमा लगानी भित्र्याउने आग्रह गरेको थियो । नेपालको राष्ट्रिय गौरवको आयोजनाहरुमा लगानी गर्न गरेको आग्रहलाई चिनियाँ रेल वेका प्रतिनिधि, इनर्जी चाइना र सिटीसीका अधिकारीहरुले आफूहरु इच्छुक रहेको प्रतिक्रिया दिएको बताए ।

सांसद श्रेष्ठले रामेछाप न्युजसँग भने,‘सात दिन चीनका विभिन्न ठाउँका भ्रमणको क्रममा चीन सरकार र चिनियाँ व्यासायीहरु नेपालमा लगानी गर्न निकै उत्सुक छन् ।’ आफूहरुले नेपालमा लगानीको क्षेत्रको बारेमा स्पष्ट पार्ने काम गरेको बताउदै सांसद श्रेष्ठले संघीय संरचना अनुसार विकास निर्माणको काममा लगानी गर्न आफूहरुले आग्रह गरेको बताए ।

सांसद श्रेष्ठले चिनियाँ पक्षसँग आफूले रामेछापमा जलविद्युतको निकै ठूलो सम्भावना रहेको र जलविद्युत आयोजनाहरुमा लगानी गर्न आग्रह गरेको बताए । उनले भने,‘रामेछापमा झण्डै १५ सय मेगावटा भन्दा बढी विद्युत उत्पादन हुने जलस्रोत छ, अहिले खिम्ती–२ निर्माण हुने क्रममा छ, सुनकोसी–३ को डिपिआर तयार हुने क्रममा छ, लिखुमा जलविद्युत आयोजनाहरु अगाडि बढने क्रममा छन्, सुनकोसी–३ जलविद्युत आयोजनामा लगानी गर्न पनि चिनियाँ इनर्जी चाइनासँग आग्रह गरेको छु ।’


सांसद श्रेष्ठको नेतृत्वमा गएको टोलीमा लगानी वोर्डका सदस्य, व्यवसायी सहितको टोलीले चीनको बेजिङग, आङहुई, सिचुवाङ, छेदुङ,खोपेसिटी लगायतका क्षेत्रको अध्ययन गरेको थियो । टोलीले भ्रमणको क्रममा रेल वे चाइनका प्रमुख, इनर्जी चाइनाका प्रमुख, थ्रि गर्जेजका प्रमुख, सिटिसीका प्रतिनिधिहरुसँग छलफल गर्दै नेपालमा लगानी गर्न आग्रह गरेको थियो । जवाफमा चिनियाँ अधिकारी र व्यसायीहरुले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्