काभ्रेमा बन्ने भयो वैकल्पिक विमानस्थल



१८ वैशाख, काभ्रे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ ।

आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई विशेष चासो लिएपछि विमानस्थल निर्माणले सार्थकता पाउने भएको हो । पर्यटन मन्त्री अधिकारीले प्रस्तावित विमानस्थल क्षेत्रको आज स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको १५ दिनभित्र काभ्रेमा कुन स्थानमा विमानस्थल बन्ने भन्ने टुंगो लगाइने बताए ।
काठमाडौँ भन्दा बाहिर नजिकै आन्तरिक (डोमेस्टिक) विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिन्छ, हामीले आज हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिन्छौँ,–मन्त्री अधिकारीले भने । बनेमा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको मन्त्रीसहितको टोलीले निरीक्षण गरेको थियो । सहभागीले बैकल्पिक विमानस्थल निर्माण गर्दा स्थानीयको भावना र वातावरणीय सन्तुलन् व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताए भने अधिकांशले जिल्लाको समृद्धिका लागि विमानस्थल उपयुक्त हुने भन्दै निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मौसमी अवस्था र विमान रुट निर्धाणमा सहजता दुवै स्थानमा उपयुक्त देखिन्छ । पहाड काट्ने र भर्ने काम दुवै स्थानमा गर्नुपर्ने हुन्छ । लगानीका हिसाबले एक हजार २०० मिटर लामो धावनमार्ग भएको विमानस्थल बनाउन जम्मा रु पाँच अर्ब खर्च लाग्नेछ, भने ८०० मिटरको बनाउँदा करिब रु तीन अर्ब लाग्ने क्यानको प्रारम्भिक अनुमान छ । नेपालमा वार्षिक ८ प्रतिशतका दरले हवाई चाप बढिरहेको र आगामी १५ वर्षभित्र यो संख्या दोब्बर हुने हुँदा राजधानीनजिक अर्को विमानस्थलको आवश्यकता महसुश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्