सुनापती गाउँपालिकाको हिलेदेवीमा बिजुली झलल….. (फोटोफिचर)



१९ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको सबै क्षेत्रमा बिद्युतीकरण भएको छ । दुई बर्ष अघि स्थानीयवासीको पहलमा विद्युतीकरणको काम अगाडि बढेको थियो ।
सदरमुकाम मन्थलीबाट सुनापति गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन जोडिएको छ । यसअघि लामोसाँघुको लाइन जोडिएको थियो ।

 

सुनापति गाउँपालिकाको केन्द्र समेत रहेको हिलेदेवीका सबै क्षेत्रमा विद्युत बलेपछि स्थानीय खुसी छाएको छ । केही बर्ष अघि उपभोक्ता समिति गठन गरेर नै विद्युतीकरणको काम अगाडि बढेको थियो । अहिले विद्युत प्राधिकरणले रामेछापका सबै क्षेत्रमा आगामी दुई बर्षभित्र विद्युतीकरण गर्ने योजना अुनसार विद्युतीकरण नभएका क्षेत्रमा विद्युतीकरणको काम गरिरहेको छ ।


केन्द्रीय प्रशारण लाइन हिलेदेवीमा जोडिएसँगै वडाका सबै क्षेत्रमा विद्युतीकरण भएको छ । केन्द्रीय प्रशारण लाइन जोडिएसँगै सुनापति गाउँपालिकाका–३ का वडा अध्यक्ष बाबुराम तामाङले ट्रान्फर्मरमा स्वीच अन गरेर उदघाटन गरे । उनले वडाभित्र अब कसैले पनि विजुलीबाट बञ्चित हुनु नपर्ने बताए ।
उनले भने,‘निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम भइरहेको छ,उपभोक्ता समितिले गरेको कामको पनि म उच्च प्रशंसा गर्छु ।’ विकास निर्माणको काममा जनताको साथ र सहयोगको आवश्यकता रहेको बताउदै आगामी दिनमा जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता गरे ।

‘अब हिलेदेवीमा अध्याँरो हटयो, हिलेदेवी अब अध्याँरोमुक्त वडा हुन्छ ।’ हिलेदेवीमा ८ सय ३० घरधुरी रहेको छ । साविकको १ नम्बर वडामा पनि लद्यु जलविद्युत रहेको छ । स्थानीयले पनि केन्द्रीय प्रसारण लाइन नै जोडनुपर्नेमा माग गरेको अध्यक्ष तामाङले बताए ।
उपभोक्ता समितिक अध्यक्ष बालध्वज थिङले विजुली बल्न बाँकी वस्तीहरु अबको एक महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने बताए ।

लामोसाँघुबाट जोडिएको लाइनमा बारम्बार समस्या आएपछि मन्थलीबाट थप प्रसारण लाइन जोडिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए । उनले रामेछाप न्युजसँग भने,‘अब सुनापती गाउँपालिकाभित्र कसैले पनि अध्याँरोमा बस्नु पर्दैन, सबै बस्तीमा विद्युतीकरण भइसकेको छ ।’ सुनापति गाउँपालिकाले पहिलो बैठकले उज्यालो सुनापति बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्