रामेछापको सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक पिच हुने



२० वैशाख, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीदेखि प्रत्येक गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे हुने भएको छ । जिल्लामा हाल सदरमुकाम समेत रहेको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको कार्यालयसम्म मात्र सडक कालोपत्रे गरिएको छ । बाँकी ६ वटा गाउँपालिकाको केन्द्रसम्म जोडने सडक कच्ची रहेको छ ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढंगेलले सबै जिल्लाको सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक पिच हुने बताएका छन् । उनले गाउँपालिकादेखि वडा केन्द्रसम्मको सडक पिच गर्नको लागि आगामी आर्थिक बर्ष २०७५÷०५६ बाट सुरु हुने दावी गरेका छन् ।


जिल्ला प्राविधिक कार्यालय रामेछापका अनुसार हालसम्म रामेछापमा ११ सय किलोमिटर सडक निर्माण गरिएको छ । जस अनुसार सिन्धुलीको खुर्कोट मन्थली हुँदै किर्णेटारसम्म र मन्थलीदेखि पुरानो सदरमुकाम रामेछापडाँडासम्मको सडक मात्र कालोपत्रे गरिएको छ । ११ मिटर मध्ये करिब ५० किलोमिटर मात्र सडक पिच गरिएको छ । खिम्तीदेखि गोगुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुसम्मको सडक पिचको काम अगाडि बढेपनि अन्य गाउँपालिकामा भने कालोपत्रे गर्ने काम अगाडि बढन सकेको छैन् । यस बर्ष मात्र गाउँपालिकाको केन्द्रलदेखि सदरमुकाम मन्थलीसम्म जोडने गरी आठ वटा सडकको डिपिआर सम्पन्न भइसकेको छ । स्थानीय तहमा गाउँपालिकाहरुले पनि सडक निर्माणलाई प्राथमिकतामा राख्दै डिपिआर तयारीको कामलाई अगाडि बढाएको छ ।


आर्थिक बर्षको बजेट तथा कार्यक्रम निर्माणको बारेमा विहिवार सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा मन्त्री ढंगेलले जनताको चाहना र भावना अनुसार स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाएर काम गर्नु निर्देशन दिए ।
आगामी असार १ गते आउने प्रदेश सरकारको नीति तथा कार्यक्रमको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा अन्तरक्रिया तथा सुझाव संकलनको कार्यक्रम सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्