रामेछापमा अरनिको र हिमाल तराई यातायात बन्द, माइक्रो र टाटासुमो सरर….



२१ वैशाख, रामेछाप ।
यातायात क्षेत्रमा सिन्डिकेट गर्न पाउनु पर्ने माग गर्दै देशव्यापी रुपमा व्यवसायीहरुले सेवा बन्द गरेका छन् । देशभरको प्रभाव रामेछापमा पनि परेको छ । रामेछापमा सञ्चालन हुने अरनिको यातायात र हिमाल तराई यातायातले सेवा बन्द गरेका छन् । तर माइक्रो र टाटासुमो भने बिहानबाटै सेवा दिइरहेका छन् ।

रामेछापको सदरमुकाम मन्थली हुँदै काठमाडौं जाने÷आउने गरी मन्थलीबाट दैनिक साढे पाँच सय सानाठूलो सवारी साधन सञ्चालन हुने गरेका छन् । तर शुक्रवार भने एक सय वटा मात्र सवारी साधन आवत जावत गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख खुसहरि भण्डारीले जिल्लामा टाटासुमो र माईक्रो मात्र सञ्चालनमा रहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार रामेछापमा दैनिक रुपमा अरनिको यातायातका १५ र हिमाल तराईका ७ देखि १० वटा बस सञ्चालनमा छन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी अमरेन्द्र सिंहले सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीहरुमाथि कारवाही हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले सार्वजनिक व्यवसायीहरुसँग समन्वय गर्न खोजिरहेका छौ, तर सेवा बन्द गराउने व्यवसायीहरु भागिरहनुभएको छ ।’ सदरमुकाम आसपासमा गाडी सञ्चालन भइरहेको बताउदै उनले सरकारको निर्देशन अवज्ञा गरेको खण्डमा कानुन अनुसार कारवाही हुने बताए । डिएसपी सिंहले भने,‘अरनिको र हिमाल तराई यातायात चलेका छैनन, बाँकी माइक्रो र टाटासुमो चलेका छन् ।’


सिन्डिकेट धारी यातायात व्यवसायीको विरुद्धमा प्रालि अन्तर्गत दर्ता भएका कम्पनीहरुले भने सेवा दिइरहेका छन् । कुशेश्वर यातायात सेवा प्रालिका अध्यक्ष राज मैनालीले आफूहरुले भने विहानदेखि नै निर्वाध रुपमा माईक्रो सञ्चालन गरिरहेको बताए । उनले मन्थली दोलखा, ओखलढुंगा लगायतको क्षेत्रमा सेवा दिइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘सरकारले सुरक्षा दिएको छ, हामीले यातायात सञ्चालन गरिरहेका छौ ।’ उनका अनुसार कुशेश्वर यातायात प्रालिद्धारा विपी राजमार्ग हुँदै २५ वटा भन्दा बढी माईक्रो वस सञ्चालनमा रहेका छन् । अध्यक्ष मैनालीले भने,‘हामीले सेवा दिने भनेर सरकारसँग अनुमति दिएका हौ, हामी यात्रुलाई दुः ख दिने काम गर्दैनौ ।’
रामेछापमा सिटी भिलेज, कुशेश्वर प्रालि, खाँडादेवी यातायात, सुनापती यातायात र हिमगंगा यातायातले भने सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्