रामेछापमा पहिलो बालुवा प्रशोधन उद्योग सञ्चालनमा (फोटोफिचर)



२५ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा नै पहिलो पटक बालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको छ । रामेछाप जिल्लको खाँडादेवी गाउँपालिका–१ राकाथुपस्थित कोथबेमा सुनकोसी खाँडादेवी वालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको हो । सुनकोसीको बालुवा सिधै निर्माणकार्यमा प्रयोग गर्दा गुणस्तरीय नहुने भएपछि बालुवा प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ ।

बालुवा प्रशोधन उद्योगको रामेछापका जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्ताले संयुक्त रुपमा उदघाटन गरे । जिससका प्रमुख खड्काले बालुवा उद्योग सञ्चालनमा आएसँगै रोजगारीको अवसर पनि सृजना गरेको बताए ।

कार्यक्रममा सुनकोसी खाँडादेवी वालुवा प्रशोधन उद्योगकी अध्यक्ष मेनुका घिमिरेले गुणस्तरीय वालुवा उपलब्ध गराउने र स्थानीयस्तरमा रोजगारी सृजना गर्ने उदेश्यको साथ उद्योग सञ्चालनमा ल्याइएको बताइन । उनले भनिन,‘उद्योगबाट प्रशोधन भएको बालुवा रामेछाप र काठमाडौंमा निकासी गछौं ।’ २ करोड रुपैयाँ लगानीमा सञ्चालन आएको उद्योगले दैनिक रुपमा चालिस ट्रिपर भन्दा बढी वालुवा प्रशोधन गर्न सक्छ ।

घरेले तथा सना उद्योग शाखा रामेछापमा दर्ता भएको उद्योगले कोथबेमा ३९ रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेको हो । अध्यक्ष घिमिरेका अनुसार एक प्रशोधन गरेको एक ट्रिपर वालुवाको १२ हजार रुपैयाँ पर्ने बताइन ।


कार्यक्रममा खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेताहरु र स्थानीयवासीहरुको सहभागीता रहेको थियो । रामेछाप जिल्लामा उद्योगको रुपमा दर्ता भएर सञ्चालनमा आएको वालुवा प्रशोधन यो पहिलो उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्