सुनापती गाउँपालिकाभित्र अब बिजुली नजाने



२५ वैशाख, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकामा अब बिजुली झ्याप्प झ्याप्प जाने समस्या हटने भएको छ । सिन्धुपाल्चोकको लामोसाँघुबाट जोडिएको ११ केभी प्रसारणलाइनमा बारम्बार समस्या आउने कारणले गर्दा सुनापति गाउँपालिकामा बिजुली जाने समस्या अत्याधिक थियो । घोषित रुपमा लोडसेडिङ नभए पनि साता दिनसम्म बिजुली जाने समस्या थियो । हावा हुरी चल्दा पनि तीन चार दिनसम्म बिजुली नआउदा स्थानीय हैरान हुने गरेका थिए ।

तर अहिले सदरमुकाम मन्थलीबाट पनि ११ केभी प्रसारण लाइन जोडिएपछि बत्ती जाने समस्या नहुने नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले बताए । उनले रामेछाप न्युजसँग भने,‘लामोसाँघु र मन्थली दुवै तर्फको ११ केभी प्रसारण लाइन जोडिएको छ, अब पटक–पटक बिजुली जाने समस्या हुँदैन ।’ अधिकारीले लामोसाँघुबाट लामो दुरीमा सवस्टेसन भएको कारण समस्या रहेपनि अब मन्थलीबाट पनि लाइन पुगिसकेकाले समस्या नहुने बताए ।
सुनापति गाउँपालिकाको पाँच वटा वडा मध्ये गाउँपालिका–२ दिमिपोखरीमा विद्युतीकरणको काम हुन बाँकी छ । एडिबीको सहयोगमा अहिले विद्युतीकरणको काम अगाडि बढेको वडा अध्यक्ष कमल केसीले बताए । लामोसाँघु सवस्टेसनबाट सुनापती गाउँपालिकामा जोडिएको विद्युतमा पटक–पटक समस्या आएपछि गाउँपालिकाको पहलमा सदरमुकाम मन्थलीबाट थप प्रसारण लाइन जोडिएको छ ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले अब गाउँपालिकामा लोडसेडिङ नहुने बताउनुभयो । उहाँले सदरमुकाम मन्थली र लामोसाँघुको लाइन जोडिएको हुनाले बत्ती जाने समस्या अब नहुने बताउदै भने,‘गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकालाई लोडसेडिङमुक्त बनाउने निर्णय गरेका थियौ, निर्णय कार्यान्वयन गरेका छौं ।’
गाउँपालिका–३ हिलेदेवीका सवै वडामा मन्थलीको लाइन जोडिएपछि झलमल भएको छ ।सुनापति गाउँपालिकाको केन्द्र समेत रहेको हिलेदेवीका सबै क्षेत्रमा विद्युत बलेपछि स्थानीय खुसी छाएको छ । केही बर्ष अघि उपभोक्ता समिति गठन गरेर नै विद्युतीकरणको काम अगाडि बढेको थियो । केन्द्रीय प्रशारण लाइन हिलेदेवीमा जोडिएसँगै वडाका सबै क्षेत्रमा विद्युतीकरण भएको छ ।

केन्द्रीय प्रसारण लाइन जोडिएसँगै सुनापति गाउँपालिकाका–३ का वडा अध्यक्ष बाबुराम तामाङले ट्रान्फर्मरमा स्वीच अन गरेर उदघाटन गर्दै अब वडाभित्र कसैले पनि विजुलीबाट बञ्चित हुनु नपर्ने बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष बालध्वज थिङले विजुली बल्न बाँकी वस्तीहरुमा अबको एक महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणले रामेछापका सबै क्षेत्रमा आगामी दुई बर्षभित्र विद्युतीकरण गर्ने योजना अुनसार विद्युतीकरण नभएका क्षेत्रमा विद्युतीकरणको काम गरिरहेको छ । नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङको घर पनि सुनापति गाउँपालिका–४ बेथान हो । स्थानीयले पटक–पटक बत्ती जाने समस्याले हैरान भएको गुनासो गरेपछि घिसिङले मन्थलीबाट थप प्रसारण लाइन जोडन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्