सुनापती गाउँपालिकालाई निशुल्क जग्गा दिन तामाङको संयोजकत्वमा बन्यो उपसमिति



२६ वैशाख, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकालाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउन हिलेदेवीका स्थानीय जुटेका छन् । गाउँपालिकाको बैठकले सात दिनभित्र निशुल्क रुपमा जग्गा उपलब्ध गराउन स्थानीय बिबी तामाङको संयोजकत्वमा नौ सदस्यीय जग्गा खोजबिन समिति गठन गरेको हो ।
समिति गठन भएलगत्तै गाउँपालिकाको केन्द्र रहेको हिलेदेवीको साँदीडाँडा आसपासको क्षेत्रमा नै जग्गा उपलब्ध गराउने छलफल सुरु भएको छ । हाल स्वास्थ्य चौकी रहेको क्षेत्रमा आसपासभित्र नै जग्गा उपलब्ध गराउनको लागि समितिले काम अगाडि बढाएको छ ।


गाउँपालिकाले जग्गा उपलब्ध गराइदिन स्थानीयसँग आग्रह गरेको छ । सकेसम्म निशुल्क जग्गा लिने नीति अनुसार गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाले तोकेको मापदण्डभित्र रहेर एक साताभित्र नै गाउँपालिकालाई जग्गा उपलब्ध गराउने उपसमितिका संयोजक बिबी तामाङले रामेछाप न्युजलाई बताए ।

गाउँपालिका अन्तर्गत निर्माण हुने सरकारी कार्यालयहरु निर्माणको लागि कम्तिमा पनि ७० रोपनी जग्गा आवश्यक पर्ने गाउँपालिकाले बताएको छ । संयोजक तामाङले जग्गा उपलब्ध गराउने विषयमा आजैबाट छलफल सुरु गरेको बताए । उनले भने,‘७० रोपनी जग्गा नै गाउँपालिकालाई उपलब्ध गराउछौ, सकेसम्म एउटै क्षेत्रमा जग्गा उपलब्ध गराउछौ, यदी केही पुगेन भने नजिकैको क्षेत्र मिलाएर भएपनि गाउँपालिकालाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउछौ ।’

प्रतिक्रिया दिनुहोस्