सुनापती गाउँपालिकालाई निशुल्क ४० करोडको जग्गा



२८ वैशाक, रामेछाप ।
सुनापती गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्न हिलेदेवीका ३० घर परिवारले ४० करोड बराबरको जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । गाउँपालिकाको केन्द्र हिलेदेवी सादीडाँडाका ३० घरपरिवारले गाउँपालिकालाई चालिस करोड रुपैयाँ पर्ने जग्गा निशुल्क रुपमा प्रदान गरेका हुन् ।


स्थानीय ३० घरले न्युनतम आठ आनादेखि पाँच रोपनी गरी ८२ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका हुन् । विहिवार बसेको गाउँपालिकाको बैठकले हाल गाउँपालिकाको केन्द्र बसेको भवन आसपास निशुल्क रुपमा जग्गा उपलब्ध गराउनका स्थानीय समाजसेवी बिबी तामाङको संयोजकत्वमा जग्गा खोज तलास गर्न उपसमिति गठन गरेको थियो ।

तामाङको नेतृत्वको नौ सदस्यीय टोलीले सात दिनभित्रको म्याद पाएपछि दुई दिनभित्र नै जग्गा निशुल्क जग्गा खोजेर गाउँपालिकालाई बुझाएको छ । शुक्रवार एक कार्यक्रमकोबीच संयोजक तामाङले ८२ रोपनी जग्गाको पुर्जा गाउँपालिकाका अध्यक्ष धावा लामा र उपाध्यक्ष गिता विष्टलाई बुझाएका छन् ।


संयोजक तामाङले गाउँपालिकालाई निशुल्क रुपमा ८२ रोपनी जग्गा उपलब्ध गराउन पाउदा आफूलाई निकै खुसी लागेको रामेछाप न्युजलाई बताए । उनले भने,‘गाउँपालिका अन्तर्गत बन्ने भवन निर्माणको लागि ३० जना दानवीरहरुले निशुल्क रुपमा जग्गा प्रदान गरेका छन्, मेरो नेतृत्वमा निशुल्क जग्गा प्रदान गराउन सफल भए, जग्गा खरिद गर्ने पैसाले अब गाउँपालिकाले आफ्नो भवन बनाउने आशा गरेका छौं ।’

गाउँपालिकाले जति बेला भनेपनि आफूहरु पास गरेर दिन तयारी अवस्थामा रहेको तामाङले रामेछाप न्युजलाई बताए । जग्गा निशुल्क रुपमा गाउँपालिकालाई दिने महान आत्महरुप्रति म धेरै धन्यवाद दिन चाहन्छु, तामाङले भने ।


गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाकालाई निकै माया गरेर निशुल्क रुपमा जग्गा प्रदान गर्ने व्यक्तिहरुलाई धन्यवाद दिए । उनले भने,‘गाउँपालिका निर्माणको लागि निशुल्क रुपमा जग्गा दिनु हाम्रो लागि निकै खुसीको कुरा हो ।’


गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले अहिले ८२ रोपनी जग्गा दिएपनि आगामी दिनमा एक सय रोपनी दिन प्रतिबद्धता स्थानीयले गरेको बताइन । उनले भनिन,‘हामीले यस बर्ष जग्गा खरिदको लागि बजेट छुटयाएका थियौ, दानवीरहरुले निशुल्क रुपमा जग्गा प्रदान गरेपछि त्या पैसाले हामी अब भवन निर्माणको लागि लाग्छौ ।’ निशुल्क रुपमा जग्गा प्रदान गर्ने दानवीरहरुलाई गाउँपालिकाले सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्