नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छःभारतीय प्रधानमन्त्री मोदी



२८ वैशाख, जनकपुर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले नेपालीहरुको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको बताउनुभयो ।
नेपाल–भारतको मित्रता त्रेता युगदेखि नै रहँदै आएको स्मरण गर्दै उहाँले मोदीले आस्था, अपनत्व, रोटी बेटीको सम्बन्धले नेपाल–भारतको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो ।
मोदीले भारत चाँडै नै विश्वको तेस्रो अर्थव्यवस्थाको देश हुन गइरहेकाले जसरी भारत आर्थिक रुपले समृद्ध हुन्छ, त्यसैगरी नेपालको विकासको गति पनि तीव्र हुने बताउनुभयो ।

उहाँले नेपालको विकासमा क्षेत्रीय विकासको सूत्र जोडिएको हुँदा अब नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गर्दै विद्युत्, रेल, भन्सार, चेकपोष्ट, हवाई सेवा, जलमार्गको विकास पनि नेपालसँग जोड्नु पर्ने बताउनुभयो ।

अहिले जयनगर–जनकपुर रेल्वेको काम तीव्र गतिमा भइरहेको र केही दिनमै उक्त रेल सेवा सञ्चालन हुने बताउँदै मोदीले भन्नुभयो, “रक्सौलबाट काठमाडौँका लागि रेल सेवासमेत सञ्चालन गरिनेछ ।” साथै उहाँले मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने कार्यसमेत भइरहेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणासमेत गर्दै प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर परियोजना छनोट गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो १०० करोड भारतीय जनताको तर्फबाट माता जानकीलाई समर्पण रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्