पार्टी एकता नभए संसद विघटन हुन्छः नेता गजुरेल



२९ वैशाख, सिन्धुली ।
नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टी एकता नभए संसद विघटन हुने बताएका छन् । उनले निर्वाचनमा पार्टी एकता गर्ने प्रतिबद्धता गरेर बाम गठबन्धनले बहुमत ल्याएको बताउदै यदी पार्टी एकता नभएको अवस्थामा नयाँ जनादेश अनुसार जानु पर्ने बताएका हुन् । ‘निर्वाचनमा पार्टी एकता गर्छौ भनेर जनतासँग भोट मागेर जितेका हौ, यदी पार्टी एकता गर्न नसक्ने हो भने नयाँ निर्वाचनमा जानुपर्छ’, गजुरेलले भने,‘नयाँ जनादेश अनुसार निर्वाचनमा जाने अवस्था आएमा सरकार ढल्छ ।’

निर्वाचनमा पार्टी एकता माओवादीको आवश्यकता थियो, अहिले एमालेलाई बढी आवश्यकता छ, पार्टी एकता नगर्ने हो ठूलो घाटा एमालेलाई नै हुन्छ, उनले भने । २००७ सालमा आएको प्रजातन्त्र संस्थागत गर्न नसक्दा २०१५ सालमा राजा महेन्द्रले कु गरेको स्मरण गर्दै नेता गजुरेलले अहिले पनि पार्टी एकता गरेर अगाडि नबढने हो भने गणतन्त्र गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिए ।


सिन्धुलीको कोलन्जोर गाउँपालिका अगुवा कार्यकर्ता भेलालाई शनिवार सम्बोधन गर्दै नेता गजुरेलले पार्टी एकतामा भइरहेको ढिलाईप्रति दुवै दलले जिम्मेवार भएर एकता गर्ने दिशातिर अगाडि बढनु पर्नेमा जोड दिए । उनले भने,‘पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ, यसलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याउनु पर्छ ।’
कार्यक्रममा प्रदेशसभा सांसद राजन दाहालले पार्टी एकताको विकल्प नभएको बताए । उनले भने,‘पार्टी एकता नगर्ने हो भने नेपालमा कम्युनिष्ट पार्टी धराशायी बन्छ ।’

प्रतिक्रिया दिनुहोस्