कुलमान घिसिङले गरे चमत्कारःदेशभर हटयो लोडसेडिङ



३० वैशाख, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर पूर्ण रुपमा लोडसेडिङ हटेको बताएका छन् । उनले अब उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य भएको बताएका छन् ।

यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने सोमबारदेखि मात्रै हुँदैछ । घिसिङले भने ‘सोमबारदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ हट्दैछ ।’

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भने ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । दुई बर्षको बीचमा कुलमान घिसिङको सफल व्यवस्थापनको कारण सबै क्षेत्रको लोडसेडिङ हटेको छ ।

जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोही अनुरुप वैशाखको अन्त्यमा आएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाएको घिसिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्