सबै क्षेत्रको सिण्डिकेट अन्त्य गर्न प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन



६ जेठ, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिण्डिकेट अन्त्य गर्नेगरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक(डिआईजी)हरुलाई निर्देशन दिनुभएको छ ।
आईतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाउनुभएका डिआईजिहरुलाई आज मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्विकार्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ यतायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षा देखि तरकारीसम्ममा रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ति सबै किसिमका सिण्डिकेट हटाउनुहोस् । ’ उहाँले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभयो ।उहाँले भन्नुभयो, ‘‘ गृहमन्त्रालयले तपाईहरुलाई विश्वाँस गरेर यो जिम्मेवारी दिएको छ , सबै जिम्मेवारी आफैमा महत्वपुर्ण छन् । हाम्रो अपेक्षा र विश्वाँस तपाईहरुले पुरा गर्नुहुनेछ । ’’
सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्रीको भनाई छ । उहाँले भन्नुभयो, ‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो । ’
प्राकृतिक स्रोत र साधनको दोहन भईरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उहाँले निर्देशन दिनुभयो । यस्तै अशान्ति र अस्थिरता फैलाउने विरुद्ध कडा रुपमा प्रस्तुत हुन समेत प्रहरी अधिकारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्