गृहमन्त्रीले ठेकेदारलाई भने–‘सच्चिनुहोस, नभए कारवाही भोग्न तयार हुनुहोस्’



७ जेठ, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीहरुलाई स्पष्ट पार्नुभएको छ । आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई गृहमन्त्रीले विगतका कमजोरीलाई सच्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन । ’ निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री बादलले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस । उनिहरुलाई तत्कालै जेल हाल्छौं । ’’
उहाँले कुनै कर्मचारीले नियतबस फाईल अड्काएर राखे उनिहरुलाई पनि कारवाही गरीने स्पष्ट पार्नुभयो ।
यसअघि मन्त्री, कर्मचारी देखि ठेकेदारसम्मको मिलेमतोमा यस्तो कमजोरीको हुने गरेको गुनासो आएको भन्दै अब त्यस्तो कार्य स्विकार्य नहुने गृहमन्त्रीको भनाई छ ।
उहाँले बिभिन्न नाममा चन्दाको लागि माग आउँदैमा खुरुखुरु चन्दा नदिन व्यवसायीलाई आग्रह गर्दै चन्दा माग्नेहरुको विवरण गृहलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले व्यववसायीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेते दोहराउनुभयो ।
उहाँले खरिद ऐनका कारण समेत निर्माण कार्यमा ढिलासुस्ती हुने गुनासो आएको भन्दै आवश्यकता अनुसार ऐन संसोधन गरीने समेत स्पष्ट पार्नुभयो ।
विकास निर्माण कमसल हुने गरेको भन्दै गृहमन्त्रीले व्यवसायीलाई भन्नुभयो, ‘ सबैको मिलेमतोमा सिमेण्ट र बालुवा १/३ भाग मिलाउनुपर्ने ठाउँमा १/१० भागसम्म मिलाएको भन्ने सुन्न्छि, अब त्यस्ता काम तत्काल बन्द गर्नुहोस् । ’
प्रतिनिधमण्डलले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएकोमा गृहमन्त्रीलाई धन्यवाद दिँदै निर्माण सामाग्री उत्पादनमा समेत केही व्यवसायीको सिण्डिकेट रहेको भन्दै हटाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
आवश्यकता अनुसार बालुवा, गिटी नपाईने, फलामै डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारण आफुहरुले भने अनुसार काम गर्न नसकिरहेको गुनासो निर्माण व्यवसायीहरुले गृहमन्त्रीसँग राखे ।
उनिहरुले गृहमन्त्रालयले ठेकेदारहरुलाई पक्राउ गर्न तयारी गरेको भनि आएको समाचारप्रति आफुहरुको ध्यानाकर्षण भएको भन्दै सो कार्य नगर्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्