सरकार रामेछापवासीमाथि किन अन्याय ?



८ जेठ, रामेछाप ।
सरकारले नै लामो समयदेखि रामेछापवासीलाई सास्ती दिदै आएको छ । निर्वाध रुपमा सडकमा ढुवानीको सवारी साधन चल्न रोक लगाउदा रामेछापवासी सरकारबाटै ठगिदै आएका हुन् । सडकमा सहज रुपमा ढुवानीका सवारीसाधन सञ्चालन हुन नपाउदा रामेछापवासी चर्को मुल्य तिर्न बाँध्य भएका छन् । रामेछापवासीलाई काठमाडौं भन्दा पनि तराईबाट दैनिक उपभोग्यवस्तुदेखि निर्माण सामाग्री ल्याउन सस्तो र सहज हुन्छ । तर विगत चार बर्षदेखि सरकारले दस टन भन्दा बढी सवारी साधन गुडन नपाउने नियम ल्याएपछि रामेछाप मात्र नभई दोलखावासी समेत मारमा परेका छन् ।


विगत एक सातादेखि तराईबाट सिन्धुली हुँदै रामेछाप आउने ढुवानी साधन सिन्धुलीमै रोकिएका छन् । जसको कारण रामेछापमा उपभोग्य वस्तुदेखि निर्माण सामाग्री समेत चरम अभाव सृजना भएका छ । सिन्धुलीको सिन्धुलीमाढी खुर्कोट हुँदै रामेछाप प्रवेश गर्ने ढुवानी सवारीलाई जेठ २ गते प्रहरीले आउन दिएको छैन ।
बिपी मार्गमा जीबिडब्लु १० टन भन्दा बढीका सबारी साधन सञ्चालन गर्न नपाउने निर्णय भएकाले सो नियम अहिले कडाइपूर्वक कार्यान्वयनमा ल्याउन कोशिस भइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले रामेछाप न्युजलाई बताए । उनले भने,‘मापदण्ड त सबैले मान्नु नै पर्छ, सडकको अवस्था कमजोर भएकाले यो नियम लागू गरिएको हो ।’
तर रामेछापका व्यवसायीहरुले भने निर्वाध रुपमा सरकारले अन्यत्रजस्तै ढुवानीका साधन सञ्चान गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । रामेछापका प्रतिनिधिसभाका सांसद, प्रदेश सभाका सांसद सहित रामेछाप उद्योग वाणिज्य संघ, तामाकोसी ढुवानी सेवा समितिका पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापनपत्र बुझाएका छन् । रामेछापवासीलाई दुःख र सास्ती दिने उदेश्यको साथ मापदण्डको बहानामा भुकम्प पीडित रामेछापवासीलाई दुःख नदिने रामेछापवासीले माग गरेका छन् ।


तीन दिनभित्र माग पूरा गर्छुः मन्त्री महासेठ
रामेछाप दोलखा लगायतको जिल्लामा सहज रुपमा ढुवानीको साधन सञ्चालन हुन नसकेको विषयमा तीन दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता मन्त्री महासेठले दिएका छन् । उनले यस बारेमा अध्ययन गरी समाधान निकाल्ने कार्यमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले रामेछाप न्युजलाई बताए ।
सिन्धुलीमा गाडी रोकिदा भुकम्प पीडितलाई सास्ती
रामेछाप आउने सबै सामानहरु तराईबाट नै आयात हुँदै आएको छ । ढुवानी गर्न सहज र सस्तो हुने भएकाले खुर्कोटको पुल सञ्चालनमा आउनु अघिदेखि नै व्यवसायीहरुले सिन्धुली हुँदै दैनिक उपभोग्यवस्तु देखि लिएर निर्माण समाग्रीहरु ल्याउने गरेका छन् । भुकम्प अति प्रभावित रामेछापमा हजारौको संख्यामा घर निर्माणको काम भइरहेको छ । घर निर्माणको लागि आवश्यक निर्माण समाग्री रट, इट्टा, सिमेन्ट लगायतका समाग्रीको रामेछापमा अभाव हुन थालेका छ । सामानको माग भएपनि दिन नसक्ने अवस्था नरहेको व्यवसायीहरु बताछन ।
बिपी राजमार्गमा दुई थरी नियम
यातायात व्यवस्था विभागबाट १० टनभन्दा माथिका ढुवानीका साधन तथा १९ सिट माथिको क्षमता भएका यात्रीबाहाक सवारी साधन चलाउन नदिने परिपत्र आएको भन्दै सिन्धुली प्रशासनले सिन्धुलीको माढी बजारमा नै यातायात साधनलाई रोक लागएको हो । तर बिपी राजमार्गमा सरकारले नै दुई थरी नियम लागू गरेको छ । एउटै मापदण्डमा बनाएको १ सय ६० किलोमिटर लामो बनेपा वर्दिवास सडकको सिन्धुलीदेखि खुर्कोटसम्मको भागमा यातायात सञ्चालनमा प्रशासनले रोक लगाएको छ । खुर्कोटदेखि सिन्धुलीको चियावारीसम्मको सडकलाई जोखिममा राख्दै दस टन भन्दा बढी बोक्न नदिने नियम सरकारले बताएको छ । तर खुर्कोटदेखि नेपालथोक धुलिखेलसम्मको सडकमा भने निर्वाध रुपमा वीस टन भन्दा बढीको ढुवानी साधन गुडिरहेका छन् ।
दिउसो चाप भए राती चलाउनु पर्छः प्रजिअ शर्मा
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले रामेछापवासीले सहज रुपमा उपभोग्य वस्तु र निर्माण सामाग्री पाउनु पर्ने बताए । दिउसाको समयमा सवारी साधनको चाप भएको अवस्थामा ढुवानीका सवारी साधनलाई राती चलाउने गरी भएपनि व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्