समाजसेवी बिबी तामाङद्धारा विद्यार्थीलाई ६० हजारको पुरस्कार वितरण



रत्नमणि राई
१२ जेठ, रामेछाप । सुनापती गाउँपालिका–३ हिलेदेवीस्थित सादिडाँडामा रहेको पशुपति माविका विद्यार्थीहरुलाई स्थानीय समाजसेवी विबी तामाङले ६० हजारको पुरस्कार वितरण गरेका छन् । समाजसेवी लामाले कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई विभिन्न शिर्षकका पुरस्कार वितरण गरेका हुन् ।पशुपति माविद्धारा आयोजित कार्यक्रममा समाजसेवी तामाङले प्रायोजन गरेको पुरस्कार वितरण गरेका थिए ।


समाज परिवर्तनको संवाहक विपन्न र जेहदार विद्यार्थीको लागि गत बर्षबाट पुरस्कार प्रायोजन गर्दै आएको बताउदै समाजसेवी तामाङले युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले पुरस्कार वितरणमा आर्थिक सहयोग गरेको बताए । उनले भने,‘पुरस्कार वितरण मार्फत विद्यार्थीहरुमा आपसमा प्रतिस्पर्धा गर्ने परम्पराको विकास हुन्छ, कलिला बालबालिकाहरुलाई सकारात्मक दर्शन दिन सके समाज परिवर्तनमा ठूलो टेवा पुग्छ ।’


विद्यालयले मापदण्ड बनाएर नर्सरीदेखि कक्षा दस सम्मका विभिन्न शिर्षमा पुरस्कृत हुने विद्यार्थीहरु छनोट गरेको थियो । कक्षागत नियमित विद्यालय उपस्थित हुनेतर्फ २३ जना र २७ जना दलित विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । अनुशासनतर्फ २५ जना, सरसफाईतर्फ २५ जना, आर्थिक विपन्न १० जना,विद्यालयका प्रथम छात्रछात्रा एक÷एक जना,र बर्षभरीमा शिक्षक हाजिरीलाई आधार बनाएर ५ जनालाई पुरस्कार प्रदान गरिएको थियो ।


सुनापती गाउँपालिका शिक्षा समितिका सदस्यक समेत रहेको तामाङले पशुपती मावि सहित गाउँपालिकाभित्रका १२ वटा माविलाई विद्युतीय हाजिरी उपकरण प्रदान गर्ने घोषणा गरेका छन् । उनले पशुपति मावि गाउँपालिकाको केन्द्रसँगै रहेकाले आगामी दिनमा बहुमखी क्याम्पस सञ्चालन गर्नको लागि प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


फाइभ फिङगर मल्टपर्पोज कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रालिका अध्यक्ष समेत रहेको समाजसेवी तामाङले व्यवसायबाट केही हिस्सा सामाजिक कार्यमा खर्च गर्न पाउदा खुसी रहेको बताए । उनले आगामी दिनमा पनि विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहन्दार विद्यार्थीहरुको शैक्षिकस्तर माथि उठाउन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा सुनापती गाउँपालिका–३ का वडा अध्यक्ष बाबुराम तामाङले विद्यालयको शैक्षिकस्तर सुधार गर्नको लागि वडाले ध्यान दिइरहेको र आगामी दिनमा पनि थप योजना सहित काम गर्ने बताए । उनले विद्यालयमा सबै गतिविधि नियाल्नको लागि छिट्टै वडाले सिसि क्यामेरो उपलब्ध गराउने बताए ।


कार्यक्रममा विद्यालयका प्रअ तिलकबहादुर वलले विद्यालयको शैक्षिकस्तर उकास्नको लागि पुरस्कार प्रयोजन गरेकोप्रति समाजसेवी तामाङलाई धन्यवाद दिएका थिए । आफ्नो बालबालिको पढनपाठनको लागि अभिभावकले घरमाा राम्रो वातावरण बनाउनु पर्नेमा जोड दिदै विद्यालयको शैक्षिक गतिविधिको बारेमा चनाखो हुनुपर्ने बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक, विद्यार्थी, स्थानीय जनप्रनिनिधि, समाजेवी, बुद्धिजीवि लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्