अब रामेछापको गाउँगाउँबाटै नागरिकता वितरण



१४ जेठ, रामेछाप ।
जिल्लाका नागरिकहरुलाई सहज रुपमा घरदैलोमा नै सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछाप गाउँपालिकाको केन्द्रबाटै नागरिकता वितरण गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । घुम्ती शिविर मार्फत जिल्ला प्रशासन कार्यालय रामेछापले सुरुमा सुनापती गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिबाट सेवा सञ्चालन गर्ने भएको हो ।
स्थानीय तह गठन भए पनि नागरिकताको प्रमाणपत्र भने जिल्ला प्रशासन कार्यालयबाट मात्रै जारी हुँदै आएको छ । नागरिकहरुले घण्टौ धाएर सदरमुकाम मन्थली आउने बाँध्यता हटाउनको लागि गाउँपालिकाको केन्द्रबाट घुम्ती शिविर माफर्त नागरिकता वितरण गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले रामेछाप न्युजलाई बताए ।


‘नागरिकहरुलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्नु हाम्रो दायित्व हो’,प्रजिअ शर्माले भने,‘नागरिकलाई घरदैलोमा नै पुगेर सेवा दिन्छौ ।’ उनले उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितिमा जेठ २० र २१ गते एकीकृत घुम्ती शिविर गर्न लागिएको जानकारी दिए । जिप्रकाले आगामी जेठ ३० र ३१ गते सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीको साँदिडाँडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको छ ।

एकीकृत घुम्ती शिविरबाट नागरिकहरुले नागरिकताको प्रमाणपत्र, अपाङ्ग परिचय पत्र लगायतको सेवा प्रवाह गर्ने प्रजिअ शर्माले बताए । उनले नागरिकता लिन उमेर पुगेका नागकिरहरुले घुम्ती शिविर सञ्चालन हुने मितिमा आएर सेवा लिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्