बिपी राजमार्गमा चल्ने सवारी साधनलाई नयाँ मापदण्ड



४ जेठ, काठमाडौं ।
विपी राजमार्गमा सवारी सञ्चालन गर्ने विषयमा स्थानीय प्रशासन र ढुवानी व्यवसायीहरुबीच विवाद देखिएपछि नयाँ मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । केही दिन अघि १० टन भन्दा बढीको ढुवानीको सवारी साधनलाई विपी राजमार्गमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रोक लगाएपछि सिन्धुली, रामेछापका ढुवानी व्यवसायीहरु निर्वाध रुपमा ढुवानीका सवारी साधन गुडन पाउनु पर्ने माग राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समक्ष माग लिएर आएका थिए l


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । मन्त्रालयले मालवाहक सवारी साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिइएको छ ।
मन्त्रालयका अनुसार यस्ता सवारी बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म चल्न पाउने छन् । धुलिखेल–बर्दिबास मार्गमा यसअघि २०७३ असारदेखि सरकारले १८ सीटभन्दा बढीका सार्वजनिक यातायात र १० ग्रस यान्त्रिक क्षमताभन्दा बढीका मालवाहक सवारी प्रवेशमा रोक लगाइँदै आएको विभागका थियो ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालल रामेछाप न्युजसँग भने,‘विपी राजमार्गको अहिलेको स्वरुपलाई जोगाउन पनि धेरै भार क्षमता भएका सवारी साधन चल्न दिनु हुँदैन ।’ सरकारले यस अघि नै मापदण्ड लागू गरेपनि प्रहरी र व्यवसायीको मिलेमतोमा क्षमता भन्दा बढीका मालवाहक सवारी साधन आवत जावत गर्दै आएका थिए । मापदण्ड विपरीतका सवारी विनामार्ग इजाजत चलेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीअनुसार कारवाही गरिने प्रवक्ता अर्यालले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा १८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने व्यवस्था उल्ट्याएको छ । अब बिपी राजमार्गमा ३२ सिटसम्मका बस गुड्न पाउनेछन् ।

यातायात व्यवसायीले बिपी राजमार्गमा ठूला गाडी चलाउन दिन माग गर्दै आएका थिए । व्यवसायीको लामो समयदेखिको इच्छा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पुरा गरिदिएका छन् । मन्त्रालयको निर्णयअनुसार यो राजमार्गमा १६ टनसम्म (गाडीको वजन) सहितका मालबाहक ट्रक तथा टिपर पनि चल्न पाउनेछन् । यसअघि १० टनसम्मका ट्रक मात्रै यो राजमार्गमा गुड्न पाउँथे ।अब यातायात व्यवस्था विभागले ३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबहाक सवारीलाई यो राजमार्गमा रुट इजाजत दिने यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्