रामेछापको लिखु–३ जलविद्युत आयोजनामा सबै रामेछापवासीलाई प्रमोटर शेयर दिन माग
२१ जेठ, रामेछाप ।
रामेछापको लिुख तामाकोसी गाउँपालिकामा बन्न लागेको २८.१ मेगावाटको लिखु–३ जलविद्युत आयोजनामा सबै रामेछापवासीलाई प्रमोटर शेयर दिन रामेछापवासीले माग गरेका छन् । रामेछापमा आयोजनास्थल भएको कारणले पनि सबैले रामेछापवासीले प्रमोटर शेयर हाल्न पाउनु पर्ने माग जनप्रतिनिधिहरुले उठाएका हुन् ।
सानिमा हाइड्रो समूहले सिभिल ठेकेदार छनोट गरेर रामेछापको लिखु नदीमा आयोजनाको निर्माण सुरु गरेसँगै शेयरको माग पनि स्थानीयले उठाउन सुरु गरेका छन् । सिभिल संरचना निर्माणको जिम्मा बाबरी एन्ड हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीलाई दिइएको समूहका सञ्चालक सुवर्णदास श्रेष्ठले बताए ।
ठेकेदार कम्पनीले आयोजना स्थलमा निर्माण उपकरण पुर्याएर काम सुरु गरेको छ । हाइड्रो तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्न प्रि–क्वालिफिकेसन प्रक्रिया अघि बढाइएको पनि श्रेष्ठले बताए ।
आयोजना पूरा भएपछि वार्षिक १७ करोड ८४ लाख युनिट विद्युत उत्पादन हुनेछ । ५ अर्ब ५९ करोड लागत अनुमान गरिएको आयोजनामा ४ अर्ब १९ करोड ऋण लगानी हुनेछ । लक्ष्मी बैंकको अगुवाईमा ५ वटा बैंक तथा वित्तीय संस्थाले गरेको ऋण कुल लगानीको ७५ प्रतिशत हो ।
२५ प्रतिशत अर्थात १ अर्ब ४० करोड स्वपुँजी लगानी छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक ९२ करोड रुपैयाँ आम्दानी गर्नेछ । आयोजनामा २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेट निर्माण गरेको सानिमा माई हाइड्रो पावर कम्पनीले ४५ करोड रुपैयाँ लगानी गर्दैछ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढंगाको लिखु गाउँपालिकाको सीमानामा रहेको लिखु नदीमा बन्न लागेको जलविद्युत आयोजनामा अनिवार्य प्रोमोटर शेयर हाल्न पाउनु पर्ने माग गर्दै आएका छन् ।
रामेछापका जनप्रतिनिधिहरुले भने सबै रामेछापवासीले शेयर हाल्न पाउनु पर्ने माग राख्दै आएका छन् । निर्माण कार्य सुरु भएर पनि केही समय स्थगित भएको तल्लो लिखु जलविद्युत आयोजनाको काम अगाडि बढेपछि स्थानीय उत्साहित भएका छन् ।
लिखु तामाकोसी गाउँपालिकाकाकी उपाध्यक्ष दिपशिखा दाहालले आयोजनाको काम अगाडि बढेको बताउदै स्थानीय सरकारसँग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘रामोपमा निर्माण हुने भएकाले सबै रामेछापवासीले प्रमोटर शेयर हाल्ने व्यवस्था गर्नुपर्छ, आयोजनासँग हामीले यही माग गरिरहेका छौ ।’
आयोजनाको २०७८ भित्र आयोजना सम्पन्न हुनेछ ।