रामेछाप जोडने अस्थायी पुल खोलाले बगायो



२१ जेठ, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकाका जनता दैनिक रुपमा ओहोर दोहोर गर्ने काभ्रेको रोशी खोलको अस्थायी पुग खोलाले बगाएको छ । अविरल बर्षापछि आएको बाढीले दसै अघि सञ्चालनमा आएको अस्थायी फलामको पुल बगाएको हो । सुनकोसी नदीको खैरेनीघाटमा विगत दस बर्ष अघि सुरु भएको पक्की पुल निर्माण नहुँदा रामेछापका सुनापती गाउँपालिका, दोरम्बा गाउँपालिकाका बासिन्दा यही पुल मार्फत मोटरसाइकलबाट आवत जावत गर्दै आएका छन् ।

रोशी खोलाको पुल बगाए पछि अब खाँडादेवी गाउँपालिकाको सित्खामा रहेको पक्की पुलबाट घुम्नु पर्ने भएको छ । सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले अस्थायी पुल रोशी खोलाले बगाउदा गाउँपालिकाका बासिन्दालाई काठमाडौं जान÷आउने समस्या भएको रामेछाप न्युजलाई बताए ।


उनले भने,‘अस्थायी पुल सञ्चालनमा आएपछि लुभुमा रहेको झोलुङगे पुल हुदै आउन जान सहज भएको थियो, अब बर्षाको समयमा स्थानीयले कठिनाई हुने भएको छ ।’ समयमा नै पक्की पुल निर्माण नहुँदा रामेछापको सुनापती र दोरम्बा गाउँपालिकाबा बासिन्दाले विशेषगरी बर्षाको समयमा ठुलो सास्ती र दुःख खेप्दै आउनु परेको छ ।

सित्खामा पक्की पुल सञ्चालनमा आएपछि निकै घुमारो र अपायक पर्ने भएको कारणले सुनापती गाउँपालिका बासिन्दाले दुःख पाउदै आएका छन् । खैरनीघाटको पुलको जिम्मेवारी पाएका ठेकेदार राम मैनालीले पुल निर्माणको लागि १२ ट्रक सामान निर्माणस्थलमा ल्याएको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘अब बर्षाको समयमा पुल निर्माणको काम गर्न सकिदैन, कार्तिकबाट पुल निर्माणको काम सुरु हुन्छ, आगामी माघभित्र पुलमा गाडी गुडछ ।’ उनका अनुसार पुल निर्माण अन्तर्गत दुवै तर्फको पिल्लर निर्माण भएर सिन्धुलीतर्फको भागमा ढलान गर्ने काम सम्पन्न भएको र अब ट्रष्टको मात्र काम बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्