स्वर्गीय पत्रकार केसीको सम्झनामा शैक्षिक सामग्री वितरण



२१ जेठ, रामेछाप ।

रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत ४० जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरेकी हुन ।

विगत ८ वर्षदेखी आफै पनि पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएकी केसीले विद्यालयमा एक कार्यक्रम गरी २०७४ सालको परिक्षामा उत्तिर्ण भएका कक्षा १ देखी ९ सम्मका प्रथम, द्धितिय, तृतीय र सान्त्वना तथा जेहेनदार विद्यार्थीलाई कापी र कलम वितरण गरेकी हुन् । सोही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी उमा केसीले बुबालाई गुमाएको समयमा घरमा आमाको आर्थिक अवस्था कमजोर हुदा अफुलाई कसैले एउटा कापि दिदा पनि निक्कै सहयोग पुगेको स्मरण गर्दै सानो सहयोगले विद्यार्थीहरुलाई हौसला मिलोस भन्ने उदेश्यले गत वर्षदेखी यस किसिमको शैक्षिक सामाग्री वितरण गर्दै आएको बताइन ।

धेरैजसो बालबालीका निजी विद्यालयमा पढ्न जानेको संख्या बढ्दै गइरहेकोे सन्दर्भमा गाउँको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सानो पुरस्कारले पढाईमा प्रतिस्पर्धा गर्न अझ प्रेरित बनाउने उनको विश्वास छ ।

आफुले पत्रकारिता गरेर कमाएको एक महिनाको तलबबाट बुबाको सम्झनामा शैक्षिक सामग्री किनेर वितरण गरेको बताइन् । शैक्षिक सामग्री वितरण कार्यक्रम पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टहल बहादुर कार्कीले जिल्लामा पत्रकारिताको सुरुवात राजकुमार केसीले गरेर समाज सेवामा पु¥याएको योगदानको चर्चा गर्दै चुनौतिपुर्ण मानिएको पत्रकारिता पेसालाई समेत बुबाको हत्या पछि छोरीले दृढताका साथ निरन्तरता दिएको भन्दै विद्यालयको तर्फबाट धन्यवाद दिनुभयो  । पत्रकार केसी सहित अन्य ५ जनालाई २०५९ साल कार्तिक ७ गते तत्कालिन शाही नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्