घिमिरेलाई नाङगेझार पार्ने पौडेल पक्राउ



२६ जेठ, रामेछाप ।
बेचेको गाई फिर्ता ल्याएको भन्दै  खेतराज घिमिरेलाइ अमानविय व्यवहार गर्ने रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ सैपुका केबलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका खेतराज घिमिरेलाई गाई फिर्ता गर्ने जाने क्रममा कपडा सबै खोलेर घरबाट दुई किलोमिटर लखटने मध्येका एक पौडेल पक्राउ परेका हुन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलको ठाडो निर्देशनमा पौडेललाई पक्राउ गरिएको हो । ढिलो गरी सार्वजनिक भएको घटनामा दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नको लागि प्रहरीलाई निर्देशन दिएको प्रजिअ शर्माले रामेछाप न्युजलाई बताए । इकाला प्रहरी कार्यालय धोवीले घटनामा संलग्न भएको भन्दै दोषी केबल पौडेललाई पक्राउ गरी शनिवार नै जिल्ला प्रहरी कार्यालय रामेछाप पठाएको छ ।

कसरी घटयो अमानविय घटना ?
खेतराज घिमिरेले सैपुका मेघनाथ पौडेलसँग गाई किनेका थिए । तर गाई किन्ने क्रममा तत्काल पैसा नभएकाले घर निर्माणको लागि पुनर्निर्माण प्राधिकरणबाट दोस्र्रो किस्ता बुझेपछि दिने सहमति गरेका थिए । तर दुध दिने गाई भनेर किनेका उनले २ महिनासम्म पनि गाइले दुध नदिएपछि गाई फिर्ता गर्ने निधोमा पुगे ।
जेठ २० गते मेघनाथ पौडेलकै सहमति बमोजिम गाई फिर्ता गरे तर मेघनाथले २ महिनासम्म खाएको दुधको पैसा माग्दै खेतराजमाथि कुटपिट गर्न थाले । मेघनाथ र उनका छिमेकी केवल पौडेल मिलेर उनलाई निवश्त्र बनाएर कुटपिट गरेको स्थानीय बताउछन् । स्थानीयका अनुसार उनका कपडा लुकाइदिए र पौडेलद्धयले खेतराज घिमिरेलाई निवश्त्र कुदाएका थिए । २ किलोमिटरसम्म रुखका पातहरुले आफ्नो लाज छोपेर कुदेका उनलाई स्थानीय रामबहादुर तामाङले कपडा दिएर घरसम्म पु¥याए थिए ।
घटनाको बिषयमा वडा कार्यालयमा निवेदन दिएपनि दोषीलाई कारवाही हुनुको सट्टा पीडकहरुले धम्काउँदै १० हजार दिएर घटना मिलाउन तर्फ लागेको बताइएको छ । कार्यालयका अनुसार शुक्रबार केवल पौडेललाई नियन्त्रणमा लिए पनि मुख्य आरोपी मेघनाथ पौडेल भने फरार छन् । घिमिरेले २०७४ सालको फागुन महिनामा पौडेलको घरबाट गाई किनेर लगेका थिए । उधारोमा गाई लगेका घिमिरेले भुकम्पको लाभग्राहीको दोस्रो किस्ता रकम आएपछि पैसा तिर्ने भाखा राखेका थिए ।

भूकम्पको पैसा निकासामा ढिलाई भएपछि पौडेलले तत्काल पैसा दिनु पर्ने भन्दै दवाव दिएपछि घिमिरेले गाईन फिर्ता लिएर गएका थिए । गाई फिर्ता लिएर पौडेलको घरमा पुगेका घिमिरेलाई पौडेलले अन्य मानिसहरुको समेत सहयोग लिएर कुटपीट गरी लुगा च्यातेर नाङगेझार बनाएका थिए ।
नाङगेझार पारेको घटनाको राष्ट्रिय मानव अधिकार आयोजले पनि छानबिन गर्ने भएको छ ।
रामेछापका प्रजिअ शर्माले दोषीलाई कानुन अनुसार कडा कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्