रामेछाप जिल्ला खुल्ला दिशामुक्त घोषणा, बन्यो ४८ हजार शौचालय



२७ जेठ, रामेछाप ।
रामेछाप जिल्ला खुल्ला दिशाभुक्त जिल्ला घोषणा भएको छ । जिल्लाको ८ वटै स्थानीय तहलाई खुल्ला दिशामुक्त घोषणा गरेसँगै जिल्लालाई नै खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।


सदरमुकाम मन्थलीमा आइतवार आयोजित एक कार्यक्रमकोबीच प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले रामेछापलाई नेपालका ५३ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेका हुन् । यो संगै रामेछाप जिल्ला प्रदेश नम्बर ३ को साँतौ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । उनले जिल्लाको समग्र विकास निर्माणको कार्यमा खुल्ला दिशामुक्त जिल्ला घोषणा कार्यक्रमले थप सहयोग पुग्ने बताए ।


रामेछाप जिल्लाको ८ स्थनीय तहका ६४ वटै वडामा करिव ४८ हजार १ सय ९२ घरमा सौचलय बनेर प्रयोगमा आएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोक बहादुर चौलागाईले रामेछाप न्युजलाई बताए । उनले भने,‘विगत बर्षबाटै अभियान सञ्चालन भएको हो, सबैको साथ र सहयोगको कारण जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न सफल भएका छौ ।’ सबै घरहरुमा शौचालय निर्माण भएकाले जिल्लाको सरसफाइको क्षेत्रमा थप टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खडका, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्ला खुल्ला दिशामुक्त घोषणा हुनु निकै खुसीको विषय भएको बताएका थिए ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रामेछापको आयोजनामा जिल्लालाई खुल्लादिशामुक्त भएको घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्